चितवन । नेपाल प्रहरी बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) हरी प्रसाद भट्टराईलाई २०८२ साल मंसिर महिनाको “सर्वोत्कृष्ट प्रदेश प्रहरी (Best Province Police of the Month) घोषणा गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर अपराध नियन्त्रण तथा अनुसन्धान शाखा दरबन्दी भई हाल जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत असई भट्टराईले अपराध नियन्त्रण, अनुसन्धान तथा फरार अभियुक्त पक्राउमा उल्लेखनीय सफलता हासिल गरेपछि उक्त सम्मान प्रदान गरिएको हो।
असई भट्टराईले २०८१ असोज १२ गते भरतपुर महानगरपालिका-५ स्थित कल्याणपुरमा पैदलयात्रीलाई ठक्कर दिई गम्भीर घाइते बनाइ फरार रहेको गोरखाको गोरखा नगरपालिका-१३ बस्ने वर्ष २७ का सुमित गुरुङलाई लुकिछिपी बसेको अवस्थामा काठमाडौंस्थित बौद्धबाट मोटरसाइकलसहित नियन्त्रणमा लिन सफल भएका थिए।
त्यसैगरी, भट्टराईकै टोलीले २०८२ मंसिर महिनामा चितवनका विभिन्न स्थानबाट लागूऔषध ट्रामाडोल २७०७ क्याप्सुल, गाँजा ९ किलो ९६९ ग्राम, खैरो हेरोइन २५३.५४५ ग्रामसहित ४५ जना व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको थिए।
असई भट्टराईलाई उक्त सम्मान बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडामा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक अरुण पौडेलले प्रदान गरेका हुन्।
