काठमाडौं । नुवाकोटका २८ वर्षीय दीपक गजुरेल सहकारी लुटपाटमा संलग्न रहेको अभियोगमा नेपाल प्रहरीले पुनः पक्राउ गरेको छ।
यसअघि २२ पटकसम्म पक्राउ परेर छुटिसकेका गजुरेल यसपटक २३ औँ पटक प्रहरी नियन्त्रणमा परेका हुन्।
प्रहरीका अनुसार गजुरेलले काठमाडौंको सिनामंगलस्थित राजश्री बचत तथा ऋण सहकारी संस्थामा रातिको समयमा प्रवेश गरी तोडफोड गर्दै १६ लाख रुपैयाँ लुटपाट गरेका थिए।
उक्त घटनाको अनुसन्धानका क्रममा उनी नै मुख्य योजनाकार रहेको पुष्टि भएपछि उनलाई पक्राउ गरिएको हो।
अनुसन्धानबाट गजुरेलले काठमाडौं र पोखराका गरी कम्तीमा १९ वटा सहकारी संस्थामा चोरी तथा लुटपाट गरेको खुल्न आएको छ।
उनी प्रायः रातिको समयमा सहकारीका ढोका र सिसा फुटाई भित्र प्रवेश गर्ने, दराज तोडफोड गर्ने र नगद रकम लुट्ने गर्थे।
प्रहरी स्रोतका अनुसार गजुरेलले लुटेको अधिकांश रकम आफ्नो गर्लफ्रेण्डसँग महँगा होटलमा बसेर, मनोरञ्जनमा खर्च गर्ने तथा विलासी जीवनशैली अपनाउन प्रयोग गर्ने गरेको स्वीकारेका छन्।आम्दानीको स्रोत नभए पनि उनी महँगा होटल, रेस्टुरेन्ट र रिसोर्टहरूमा बारम्बार जाने गरेको विवरण अनुसन्धानमा भेटिएको छ।
बारम्बार पक्राउ परेर पनि कानुनी प्रक्रियाबाट छुट्दै आएको विषयले प्रहरी प्रशासन र न्यायिक प्रणालीमाथि प्रश्न उठाएको छ। यसपटक भने गजुरेलमाथि कडा कानुनी कारबाही अघि बढाउने तयारी भइरहेको छ।
हाल उनलाई प्रहरीले हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।
यस घटनाले सहकारी संस्थाको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ भने सहकारीहरूलाई सुरक्षा सतर्कता बढाउन प्रहरीको आग्रह छ।
