काठमाडौं । प्रहरी सहायक निरीक्षक (असई) बच्चा यादव भनिने रामेश्वर पछिल्लो समय मधेस प्रदेशमा चर्चित मात्र होइन, विवादको केन्द्र बनेका छन्।
मकवानपुर दरबन्दी भए पनि तत्कालीन मानवस्रोत विभाग प्रमुख तथा हालका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको कार्यकालमा काज मिलाएर जिप्रका धनुषा पुगेका यादवमाथि आईजीको नाम बद्नाम गर्दै पैसा असुली गरेको गम्भीर आरोप लागेको छ।
स्रोतका अनुसार, लामो समय मधेसमै बस्दै आएका असई यादवले आफ्नो पहुँच देखाउँदै ‘ठूलो मान्छेको मान्छे’ भएको दाबी गर्न थालेपछि उनी विवादमा तानिएका हुन्। यादवलाई पूर्वआईजीपी सर्वेन्द्र खनालको दबाबमा धनुषा पठाइएको भनिए पनि अहिले भने आईजीपी कार्की स्वयंले उनलाई आफ्नै दरबन्दी फर्काउन निर्देशन दिएको चर्चा प्रहरी वृत्तमा छ।
धनुषा पुगेलगत्तै असई यादवले तडकभडक प्रदर्शन गर्दै प्रदेश प्रहरी कार्यालयसम्म आफ्नो प्रभाव जमाएको स्रोतको दाबी छ। सोही क्रममा मधेस प्रदेश प्रहरी प्रमुख डिआईजी गोविन्द थपलियासँग निकटता बढाउँदै घुमुवा शैलीमा परिचालन हुन थाले। यसपछि डिआईजी थपलियाको आडमा आईजी कार्कीको नाम लिँदै विभिन्न ठाउँबाट पैसा असुली भएको चर्चा व्यापक भयो।
यस विषयमा आईजीपी कार्कीले डिआईजी थपलियासँग सिधै चासो राख्दा सुरुमा सबै कुरा ‘हल्ला मात्र’ भन्दै थामथुम पार्ने प्रयास भएको, तर पछि असई यादवका गतिविधि बाहिरिन थालेपछि वास्तविकता खुल्दै गएको स्रोत बताउँछ।
पछि डिआईजी थपलियाले असई यादवलाई मकवानपुरको रमना सरुवा गर्न खोज्दा प्रदेश प्रहरी कार्यालयका लेखा प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) विजय यादवले ‘यो हाम्रो मान्छे हो सर’ भन्दै संरक्षण गरेको आरोपसमेत लागेको छ। इन्स्पेक्टर यादव पूर्वआईजीपी खनालको कार्यकालमा बडिगार्ड रहेको र हाल असई यादवलाई परिचालन गर्ने भूमिकामा रहेको स्रोतको दाबी छ।
यसैगरी, प्रदेश प्रहरी कार्यालय स्थापना भएदेखि मधेसमा अड्डा जमाएका सहायक हवल्दार अंकित सिंहमाथि पनि डिआईजी थपलियाको नाम प्रयोग गरी ब्रम्हलुट मच्चाएको आरोप छ। आफूलाई प्रदेशबाट खटिएको ‘क्राइम टोली’ भन्दै मानिस भेट्ने र पैसा उठाउने कार्यमा संलग्न रहेको बताइन्छ।
स्रोतका अनुसार, अंकित सिंहलाई परिचालन गर्ने प्रहरी बरिष्ठ सई सागर राणा हुन्। हाल जानकी प्रहरी चौकीका इन्चार्ज रहेका सई राणाले सिंहलाई मान्छे भेट्न पठाउने र असुली गराउने गरेको आरोप छ।
रोचक के छ भने, असई यादव महोत्तरीमा कार्यरत रहँदा आफ्नै प्रहरी कर्मचारीमाथि गोली चलाएको आरोपमा निलम्बनमा परेका थिए। तर पैसाकै आडमा निलम्बन फुकुवा गराएर पुनः जागिर जोडेका घटना अहिले पुनः चर्चामा आएको छ।
