काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) डम्बर बहादुर बिकले कार्यसम्पादन तथा मूल्याकंन ढाँचाले वस्तुनिष्ठ मूल्याकंनको आधार तयार गर्ने र संगठनलाई आगामी दिनमा कुनै पनि योजना बनाउन मद्दत पुग्ने बताएका छन् ।
कार्यसम्पादन तथा मूल्याकंन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण समापन कार्यक्रममा बोल्दै एआईजी बिकले यस प्रणालीमार्फत विभिन्न प्रहरी इकाइहरूको तुलनात्मक अध्ययन गर्ने अवसर मिल्नुका साथै आफुले गरेको कामको मूल्याकंन समेत आफैले विश्लेषण गरी सुधार गर्ने अवसर प्राप्त गरी समग्रमा कार्यसम्पादनको स्तर वृद्धि हुने उनले बताए ।
यस्तै नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) दिपक रेग्मीले अनुशिक्षणको उद्देश्य एवम् प्रभावकारिता बारे जानकारी दिए ।
उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक (डिएसपी) किरण जंग कुँवरले अनुशिक्षण कार्यक्रमको परिचय, उद्देश्य, कार्यसम्पादन अभिलेखका लागि निर्दिष्ट कार्यालयहरू, औचित्य, प्रतिवेदनको ढाँचा, सूचकहरूको संख्यात्मक विवरण, कार्यसम्पादनका मुख्य क्षेत्रहरू, प्रतिवेदन प्रणाली, मूल्याङ्कन प्रणाली, मूल्याङ्कन भार, उत्प्रेरणा र सुधार एवम् अपेक्षित उपलब्धीहरू सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिका साथै ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूको केन्द्रीय अभिलेख प्रणाली विकास गरी सो इकाइहरू वा सम्बद्ध कार्यालय प्रमुखहरूको कार्यसम्पादन तदारूकता, तत्परता, पहलकदमी एवम् समग्र कार्यसम्पादन स्तरको वस्तुगत मूल्याङ्कनरमापन गर्दै सो अभिलेख प्रणालीलाई सम्बद्ध प्रहरी इकाइहरूको कार्यसम्पादन स्तरको तुलनात्मक अध्ययनका साथै प्रहरी कर्मचारीहरूको कार्यसम्पादन मूल्याङ्कन समेत गर्ने प्रयोजनले ‘कार्यसम्पादन र मूल्याङ्कन अभिलेख ढाँचा’ तयार गरिएको हो ।
