काठमाडौं । जिल्लामा केही समयअघि सुरु गरिएको जेनजी आन्दोलनको व्यापक प्रभाव परे पनि ट्राफिक प्रहरीले गर्ने अवैध असुलीको अभ्यास भने रोकिएको देखिँदैन।
स्थानीय नागरिक र सवारी चालकहरूले ट्राफिक निरीक्षणका नाममा साना–ठूला बहाना बनाई अनावश्यक रकम मागिने गरेको गुनासो गर्दै आएका छन्।
आन्दोलनपछि प्रशासनले अनुशासन कडाइ गर्ने आश्वासन दिएको थियो, तर व्यवहारमा सुधार नदेखिएको स्थानीयको आरोप छ। नियमित चेकजाँचभन्दा बाहिर गएर असुली गर्ने गतिविधिले चालकहरूमा असहजता र असन्तोष बढाएको छ।
इलाममा रक्से, विप्लाटे, तीनघरे, फिक्कल, हर्कटे, जोरकलश, दानावारी, मंगलबारे र जिल्लाको गरी नौ वटा ट्राफिक पोस्टहरू रहेका छन्।
यीमध्ये मंगलबारेमा अहिले ट्राफिक प्रहरी छैन।
यी पोस्टहरू मध्ये विप्लाटे, जोरकलश र फिक्कल सबैभन्दा राम्रो अर्थात् अतिरिक्त कमाई हुने ट्राफिक पोस्टहरूमा पर्दछन्। जिल्ला मातहतका सबै पोस्टहरूले रकम उठाएर मासिक रूपमा जिल्ला स्थित कार्यालय प्रमुखलाई बुझाउनुपर्ने अवस्था रहेको जिल्लामा कार्यरत एक हवल्दारले बताए।
जेनजी आन्दोलनपछि केही दिन असुली रोकेका भए पनि अहिले आन्दोलनभन्दा अघिकै जस्तै ट्राफिक प्रहरीले रकम उठाउने गरेको यातायात व्यवसायीहरू बताउँछन्।
जिल्लामा ट्राफिक प्रहरीले सार्वजनिक तथा निजी सवारी व्यवसायीसँग मासिक रूपमा अवैध रकम असुली गर्दै आएको गुनासो स्थानीय चालक तथा व्यवसायीले गरेका छन्। मासिक तीन सयदेखि पच्चीस सय रुपैयाँसम्म बुझाउन बाध्य पारिएको आरोप उनीहरूको छ।
व्यवसायीहरूका अनुसार ट्राफिक प्रहरीलाई मासिक रकम बुझाएपछि ट्राफिक चेकजाँचबाट छुट पाइने, अन्यथा अनावश्यक दुःख दिने गरिएको छ। एक सवारी धनीले भने, “मासिक तिर्नेहरूलाई ट्राफिक प्रहरीले केही नदेखेजस्तै गर्छ, तर नतिर्नेहरूलाई सानातिना बहानामा पनि दुःख दिन्छ।”
अधिकांश चालक तथा सवारी धनीहरूले आफ्नो नाम सार्वजनिक नगर्ने सर्तमा बोलेका छन्। उनीहरूका अनुसार ट्राफिकले “हुट” राखिएको सवारी, सिट क्षमताभन्दा बढी यात्रु बोकेको गाडी, चप्पल लगाएर गाडी चलाउने जस्ता कानुन उल्लङ्घन गर्ने सवारीलाई समेत नदेखेजस्तै गर्ने गरेको छ, ‘यदि ती सवारीले मासिक रकम बुझाएको भए।’
सवारीमार्ग चेकजाँच कमजोर हुँदा लागुऔषध, अवैध मदिरा र गोरुको मासु जस्ता निषेधित वस्तुहरूको ढुवानीसमेत सवारीसाधनबाटै भइरहेको स्थानीयको आरोप छ।
साना–ठूला होटलहरूमा भारतबाट ल्याइएको प्रतिबन्धित मदिरा खुलेआम बिक्री भइरहेको र गोरुको मासुसमेत सहजै पाइने जनाइएको छ।
सीमा क्षेत्रमा ट्राफिक र प्रहरीको मिलेमतोमा चिनी, मदिरा र अन्य सामान भारतबाट भित्र्याइने गरिएको पनि स्थानीयको भनाइ छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख लीलानाथ न्यौपानेले भने आफूलाई ट्राफिकले पैसा लिने गरेको जानकारी नभएको प्रतिक्रिया दिएका छन्।
स्थानीयवासी, सवारी चालक र सामाजिक अभियन्ताहरूले इलाममा ट्राफिक प्रणालीमा गम्भीर समस्या रहेको भन्दै तत्काल छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेका छन्।
सवारी चेकजाँचमा पारदर्शिता र कडाइ नगरेसम्म लागुऔषध, करछली र अवैध कारोबार नियन्त्रण असम्भव हुने उनीहरूको भनाइ छ।
अहिले लाइसेन्स नखुलेको कारण पनि ट्राफिक प्रहरीले सडकमा यातायात व्यवसायीलाई अनेक बहानामा दुःख दिएर रकम उठाउने काम गरिरहेका छन्।
यस विषयमा सरोकारवाला निकायले छानबिन गरी कडाइका साथ कारबाही गर्नुपर्ने माग स्थानीय नागरिकले लगातार उठाइरहेका छन्।
