काठमाडौं । नेपाल प्रहरीका पूर्व अतिरिक्त महानिरीक्षक (एआईजी) राजेन्द्रसिंह भण्डारी अन्तरिम सरकारमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्ने निश्चित भएको छ।
पूर्व सुरक्षा अधिकारीबाट मन्त्री पदमा उक्लन लागेका भण्डारीको नाम प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी हुन्।
भण्डारी मूलतः सुदूरपश्चिमको बैतडीबाट हुन्। अन्तरिम सरकारले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व नपाएको भन्दै उठ्दै आएको आवाजबीच भण्डारीको नाम अन्तिम चरणमा पुगेको हो। उनी हाल काठमाडौंमै बसोबास गर्दै आएका छन्।
भण्डारी प्रहरी सेवाबाट एआईजी पदका साथ अवकाशप्राप्त अधिकारी हुन्। सुरक्षा क्षेत्रमा लामो अनुभव बोकेका उनी श्रम–रोजगारजस्तो संवेदनशील मन्त्रालयको नेतृत्व लिन लागेका छन्।
त्यस्तै कुमार इङनाम भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, माधव चौलागाईं वन तथा वातावरण र श्रद्धा श्रेष्ठ महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री बन्दैछन्।
नयाँ मन्त्रीहरूलाई आज (मंसिर २६) दिउँसो ३ बजे शपथ गराइने कार्यक्रम छ।
