चितवनको भरतपुर-१०, लाहुरेटोल।
मंगलबारको शान्त साँझ अचानक चर्को गतिविधिले चितवनको लाहुरेटोल हल्लिन पुग्यो। घर-आँगनमा अरू दिनझैँ शान्ति थियो, तर प्रहरीको गोप्य ‘स्टेल्थ अपरेसन’ सुरु भएसँगै, बस्तीमा एकाएक चहल–पहल बढ्यो।
लागूऔषध कारोवार बढ्दै गएको सूचनालाई पछ्याउँदै प्रहरी सहायक निरीक्षक (असई) हरि भट्टराईको कमाण्डमा गठन भएको विशेष टोलीले सो क्षेत्रमा निगरानी कडा बनाउँदै गएको थियो।
अन्ततः त्यही निगरानीकै आधारमा प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहलाई घेराबन्दी गर्दै नियन्त्रणमा लिन सफल भयो।
१४२ ग्राम ६८ मिलिग्राम हेरोइन बरामद
टोलीले पक्राउ गरेको समूहको साथबाट १४२ ग्राम ६८ मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ-नेपाली बजारमा यसको मूल्य लाखौँ पर्ने अनुमान छ।
बरामद हेरोइन प्लाष्टिक र कागजमा बेरेर तौलयन्त्रमा नापिएको अवस्थामा फेला परेको थियो।
प्रहरी अधिकारीहरूले यो परिमाणलाई, ‘अहिलेसम्मकै ठूलो, तर निकै सक्रिय सप्लाई चेनको भाग’को रूपमा व्याख्या गरेका छन्।
यसरी भयो अपरेसन
गोप्य सूचना आएपछिको २४ घन्टा प्रहरी बौद्धिक रूपमा निकै सक्रिय थियो।
टोलीले बस्तीको अपवाह, हिँडडुल, रातको गतिविधि सबै म्याप गर्यो।
केही दिनदेखिनै आलेख-चलखेल देखिएको त्यही घर लक्षित गरियो।
अन्ततः मंगलबार साँझ ‘सब्जेक्ट’हरू जम्मा भएको पुष्टि भएसँगै अपरेसन सुरु भयो।
असई भट्टराईको निर्देशनमा अघि बढेको टोलीले बिनाकुनै प्रतिरोध सबैलाई नियन्त्रणमा लिएको हो।
यी हुन् पक्राउ पर्नेहरु
१. जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका- ३२ टेडा घर भई हाल भरतपुर-१०मा डेरा गरी बस्ने वर्ष १९ को रैफुल्लाह मिया ठकुराई
२. जिल्ला चितवन भरतपुर महानगरपालिका १७ गोब्रेनी बस्ने वर्ष २४ को वसन नेपाली
३. जिल्ला चितवन भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने वर्ष ३६ को भीम प्रसाद तामाङ
४. जिल्ला चितवन भरतपुर महानगरपालिका ४ त्रिचोक बस्ने वर्ष २१ को सरोज योञ्जन तामाङ
५. जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेडा घर भई हाल भरतपुर १० स्थितमा स्थानमा डेरा गरी बस्ने वर्ष १९ को प्रवेज अन्सारी
६. जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ टेडा घर भई हाल भरतपुर १० स्थितमा स्थानमा डेरा गरी बस्ने वर्ष १८ को अनवर अन्सारी
७. जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छप्कैया बस्ने वर्ष २३ कि आईषा खातुन
८. जिल्ला चितवन भरतपुर महानगरपालिका २१ पार्वतीपुर बस्ने वर्ष ३२ को मनु भन्ने मनोज बिक
यी मध्ये अधिकाश बिक्रि वितरण गर्नेदेखि लिएर चितवनका मुख्य कारोबारी तथा सेवनकर्ता समेत गिरोहलाई नै नियन्त्रणमा लिन चितवन प्रहरी सफल भएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक रविन्द्र खनालले भने, ‘यो परिमाण र संलग्न समूह हेर्दा एउटा सक्रिय लागूऔषध आपूर्ति सञ्जाललाई एकैपटक निष्क्रिय बनाउन सफल भएका छौँ। अब यसको मूल स्रोत र पछाडिको कडी पहिचानमा अनुसन्धान केन्द्रित हुनेछ।’
उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध जिल्ला अदालत चितवनबाट ५ दिनको लागि म्याद थप भएको छ।
प्रहरीले अब फोन र डिजिटल ट्र्याक, रकम आदान–प्रदान, उनीहरूका पछिल्ला आवतजावत, समूहको ‘सप्लायर–नेटवर्क’ सबैतर्फ अनुसन्धान गर्ने खनालले बताए।
चितवन प्रहरीले पछिल्लो समय लागूऔषध नियन्त्रण अभियानलाई प्राथमिकतामा राखेको छ, र मंगलबारको स्वरूपमा आएको अपरेसनलाई ‘विशेष सफल उदाहरण’ को रूपमा लिएको छ।
