काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले देशभरका प्रहरी कार्यालयका प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिएको छन्। आइतबार आयोजित उक्त बैठकमा उनले समग्र रूपमा प्रहरी कार्यसञ्चालनलाई अझ प्रभावकारी बनाउन विभिन्न विषयमा महत्वपूर्ण निर्देशिका जारी गरेका हुन्।
आईजीपी कार्कीले अपराध नियन्त्रण तथा अनुसन्धान, राजस्व चुहावट र तस्करी नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आसन्न निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थापन, प्रहरीको आचरण सुधार तथा नागरिकमैत्री सेवा प्रवाहजस्ता मुद्दामा गम्भीर भएर काम गर्न सबैलाई निर्देशन दिए।
उनले प्रहरीको व्यवहार, जवाफदेहिता र सेवा प्रवाह सुधार गर्दै जनतासँगको भरोसा अझ मजबुत बनाउनु पर्ने बताउँदै, प्रत्येक क्षेत्रमा नतिजामुखी कामको अपेक्षा व्यक्त गरे।
सोही अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सुशील सिंह राठौरले पनि सम्बोधन गर्दै सबै अनुसन्धान कार्यलाई पूर्ण रूपमा वस्तुनिष्ठ, वैज्ञानिक र प्रमाणमुखी बनाउन विशेष जोर दिएका थिए।
