काठमाडौं । अख्तियार प्रमुख आयुक्त प्रेमकुमार राईदेखि पूर्वमन्त्रीहरू आरजु राणा देउवा, रमेश लेखक र बालकृष्ण खाणसम्म देशका उच्च तहका १० व्यक्तिलाई ‘१० दिनभित्र राजीनामा नदिए ज्यान जाने धम्की पठाउने व्यक्ति को हुन्? कहाँबाट सञ्चालन भइरहेका छन्? र उनीसँग यति ठूलो योजना कसरी आएन? यी सबै प्रश्न अहिले नेपाल प्रहरीले प्राथमिकताका साथ हेरिरहेको छ।
धम्की पठाएको व्यक्ति हुन् प्रकाश पाठक। आफू ‘Extremist Group of Nepal’ नामको भूमिगत समूहको अध्यक्ष भएको दाबी गर्दै उनले गत शनिबार इमेलमार्फत १० जनालाई लक्षित ‘टार्गेट–किलिङ’ योजना घोषणा गरे। इमेलमा लेखिएको थियो- ‘हाम्रो केन्द्रीय कमिटीले तपाईँसहित १० जना भ्रष्ट प्रशासकको हत्या गर्ने निर्णय गरेकोमा हामी दुःखी छौँ। १० दिनभित्र राजीनामा दिनुहोस्, नत्र मारिनुहुनेछ।’
यसैसँगै उनले भदौ २४ गते कारागारबाट भागेका कैदीहरूलाई प्रयोग गरेर आक्रमण गर्ने योजनाको उल्लेख पनि गरेका छन्। इमेलपछि नेपाल प्रहरीको सम्पूर्ण संरचना नै हल्लिएको छ। CIB देखि साईबर ब्यूरोसम्म, सबै युनिट पाठकको लोकेशन र नेटवर्क पत्ता लगाउन खटिएका छन्।
यसलाई झन् झट्का दिनुअघि नै पाठकले आफ्नो फेसबुक पेजमा भिडियो सार्वजनिक गरे, जहाँ उनले कुनै संकोचबिना भनिदिए कि उनले १० जनाको हत्या योजना बनाइसकेका छन्। भिडियोमा उनी अत्यन्तै आत्मविश्वासका साथ भन्छन्, ‘प्रेम राईलाई अल्टिमेटम सकिनुअघि नै सिद्ध्याउँछौँ। उनीहरू राजीनामा गर्नुभन्दा मेरो केटाहरूलाई पक्राउ गर्नमा लागेका छन्। यदि यही शैली जारी रह्यो भने उनको आयु धेरै लामो हुँदैन।’
उनको दाबीअनुसार, नेपाल प्रहरीले उनलाई भारतका थुप्रै ठाउँमा भारतीय प्रहरीमार्फत खोज्यो, तर उनी ‘अति गोप्य’ स्थानमा लुकेर बसिरहेका छन्। उनले आफू एक घण्टामा चारवटा स्थान बदल्ने दाबी गर्दै गिरफ्तारीलाई ‘असम्भव’ ठोकुवा गरेका छन्।
प्रहरीको प्रारम्भिक अनुसन्धानले पाठक नेपालमा नरहेको लगभग निश्चित देखाएको छ। विदेशमै बसेर धम्की पठाएको अनुमान बलियो बन्दै गएको छ। तर पनि उनले नेतृत्व गरेको भनिएको ‘Extremist Group of Nepal’ वास्तवमै के हो? कति सदस्य छन्? कताबाट सञ्चालन हुन्छ? यसबारे अहिलेसम्म कुनै ठोस तथ्य प्रहरीले पाउन सकेको छैन।
यही अज्ञात स्वरूप र खुलेआम सार्वजनिक धम्कीले सुरक्षा निकाय संसारकै उच्च सतर्कतामा राखिएको छ। धम्की सूचीमा परेका व्यक्तिहरूको सुरक्षा स्तर बढाइएको छ। घर, कार्यालय, हिडडुल मार्ग, सम्पर्कबिन्दु- सबैमा कडाइ गरिएको छ। नेपाल प्रहरीले यसलाई ‘अत्यन्त गम्भीर सुरक्षा चुनौती’ का रूपमा हेरेको पुष्टि स्रोतहरूले गरेका छन्।
घटनाले अर्को कोण पनि बोकेको बताइन्छ। प्रारम्भिक निकालेका केही सूचनाले यो प्रकरणमा केही सरकारी अधिकारीहरूको नाम समेत जोडिएको आशंका भइरहेको छ, जसले घटनालाई झनै जटिल बनाएको छ। प्रहरी यसबारे आधिकारिक रूपमा बोल्न तयार छैन- तर ‘अनुसन्धान जारी छ’ भन्ने मात्र दोहोरिइरहेको छ।
पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालमार्फत यस्तो ‘खुलेआम हत्या घोषणा’ नेपालमा शायदै देखिएको थियो। धम्की दिनेलाई पक्राउ गर्न नसकिएको अवस्था, विदेशी भूमिबाट सञ्चालन भइरहेको संकेत, भागेका कैदीहरूको प्रयोगको दाबी- यी सबैले यसलाई साधारण आपराधिक काण्डभन्दा निकै जटिल बनाइदिएको छ।
सुरक्षा अधिकारीहरूका अनुसार, पाठकको शैली, वक्तव्य, गुप्त लोकेशन र हतियारयुक्त व्यक्तिहरू प्रयोग गर्ने दाबी हेर्दा घटना ‘साइबर–ओरिएन्टेड आतंक शैली’ को हुन सक्ने उच्च सम्भावना छ।
यसबीच, प्रहरीको खोजी र अनुसन्धान दुवै तीव्र बन्दै गएका छन्। अन्तर्राष्ट्रिय प्रहरी निकायसँग समेत समन्वय सुरु भइसकेको छ। घटनाको दिशा कुनतिर जान्छ, पाठक वास्तवमा को हुन् र उनको समूह कसरी सञ्चालन हुँदै आएको छ- यी सबै अब आउने दिनमा स्पष्ट हुँदै जानेछन्।
तर अहिलेको सत्य भनेको यत्ति हो- नेपाल हाल एक व्यक्ति र उसको ‘भर्चुअल’ संगठनले दिएको धम्कीका कारण अभूतपूर्व सुरक्षा सतर्कतामा छ।
