काठमाडौं । काभ्रेको सदरमुकाम धुलिखेलमा कार्यरत राष्ट्रिय अनुसन्धान विभागका उप–अनुसन्धान निर्देशक (एसपी) दीपक खड्का फेरि एकपटक चर्चाको केन्द्र बनेका छन् । २०५५ सालमा असईबाट सेवा प्रवेश गरेका खड्का पछिल्ला वर्षहरूदेखि विभिन्न विवादमा तानिँदै आएका छन् ।
राष्ट्रसेवक कर्मचारीले राजनीतिक दलका नेतासँग निकटता राख्नु नीतिविपरीत मानिन्छ । तर खड्कालाई नेकपा (एमाले) र त्यसका शीर्ष नेतासँगको नियमित उठबसका कारण विभागभित्रै आलोचना हुँदै आएको छ।
तिनै खड्काले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसा गर्ने, उनको पक्षमा धारणा राख्ने तथा वर्तमान सरकारबिरुद्ध टिप्पणीयुक्त सामग्री सामाजिक सञ्जालमा सेयर गर्ने गतिविधि बढाएको प्रमाणहरू देखिएका छन्।
आइडी ‘लक्ष्मीपुर पतरी’बाट विवादास्पद पोस्ट
खड्काले ‘लक्ष्मीपुर पतरी’ नामक फेसबुक आइडीमार्फत वर्तमान अन्तरिम सरकार र प्रधानमन्त्रीविरुद्ध गालीगलौजयुक्त भिडियो तथा आलोचना सेयर गर्ने गरेका छन्। सोही आइडीबाट केही दिनअघि सेयर गरिएका फोटा र स्टाटसले उनलाई पुनः चर्चामा ल्याएको हो।
ती पोस्टमा उनले एमाले अध्यक्ष ओलीका तस्बिर र भाषण सेयर गर्दै ‘अब सुशासनको सरकार’ जस्ता टिप्पणी गरेका छन्। उनले पोष्ट गर्ने आइडी अहिले पनि ‘एक्टिभ’ नै रहेको छ। उक्त आईडीको प्रोफाइल पिक्चर समेत खड्काले आफ्नो परिवारकै राखेका छन्।

गुप्तचरजस्ता संवेदनशील निकायमा कार्यरत अधिकृतले खुलेर राजनीतिक गतिविधि गर्नु कानून तथा विभागीय आचारसंहिताविपरीत हुने विशेषज्ञहरू बताउँछन्। खड्काले सामाजिक सञ्जालमार्फत व्यक्त गरिरहेका धारणा र गतिविधिले विभागीय स्वच्छता तथा राजनीतिक तटस्थताको सिद्धान्तमाथि प्रश्न उठाएको देखिन्छ।
एमाले नेतृ सुनिता बरालसँगको निकटताका कारण खड्काको तत्कालीन प्रधानमन्त्री ओलीको सचिवालयसम्म सहज पहुँच खुलेको बताइन्छ। ओली सरकार भएको समयमा उनी बालुवाटारमै बसेर काम गरेको समेत स्रोतहरू बताउँछन्।
यही निकटताका कारण खड्काविरुद्ध उठेका नक्कली शैक्षिक प्रमाणपत्र र अन्य अनियमितताका आरोप पनि राजनीतिक संरक्षणले पखालिएको आरोप छ।
पहिलेदेखि विवादमा तानिँदै आएका खड्का
बारामा कार्यरत छँदा उनी उठ्तीपुठ्तीमा संलग्न रहेको गुनासो उठेको थियो । तर ती आरोप विभागीय कारबाहीसम्म नपुग्दै उम्किएको अनुभव पुराना कर्मचारीहरूले सुनाउँछन्।
सिरहा र सप्तरीजस्ता संवेदनशील क्षेत्रमा समेत बसेका खड्काको बानी–व्यवहारबारे पनि प्रहरी–प्रशासनमा विभिन्न टिप्पणी भइरहेका छन्।
