काठमाडौं । ‘ड्युटी’मा खटिएका प्रहरीलाई कुटपिट गरी धनमाल लुटपाट गरेको आरोपमा दुई जना व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ। पक्राउ परेकालाई अनुसन्धानपछि कार्यालयले बुधबार सार्वजनिक गरेको हो।
गत भदौ २४ गते जेन–जी प्रदर्शनका क्रममा काठमाडौं–२४, विशालबजार क्षेत्रमा जनसेवाबाट खटिएका प्रहरीलाई एक समूहले घेराबन्दी गर्दै कुटपिट गरेको र साथमा रहेका सामान लुटपाट गरेको थियो।
उक्त घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्दै प्रहरीले अनुसन्धानलाई अघि बढाएको थियो।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार पक्राउ परेकामा काठमाडौं–२०, चिकामुगलका ४१ वर्षीय नीरज चित्रकार र काठमाडौं–१०, दमाईँटोलका ४० वर्षीय राजकुमार क्षेत्री छन्। दुवै जनामाथि प्रहरीमाथि आक्रमण र लुटपाट गरेको अभियोगमा कारबाही प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए।
अनुसन्धानका क्रममा नीरज चित्रकारविरुद्ध यसअघि नै ज्यान मार्ने मुद्दा दर्ता भई जनसेवा न्युरोड प्रहरीवृत्तमा चलिरहेको खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेकालाई थप अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।
