रौतहट । रौतहटमा सशस्त्र प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ। भारत–नेपाल सीमास्थित ईशनाथ नगरपालिका–४ स्थित लतमरीबाट मोटरसाइकलमा नेपाल प्रवेश गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बल, नेपाल बीओपी औरैयाबाट खटिएको गस्ती टोलीले भारतीय नम्बर (BR 05 AT 0983) भएको मोटरसाइकललाई मंगलवार अपराह्न ४ बजे नियमित चेकजाँचका क्रममा रोक्दा एक हजार दरका ११७ थान नक्कली नोट फेला परेको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी रामहरी अधिकारीले जानकारी दिए।
पक्राउ पर्नेहरूमा देवाही गोनाही–४का २० वर्षीय गोनालाल राउत, २० वर्षीय अजय पटेल र चैनपुर–२, पूर्वी चम्पारण, भारतका २३ वर्षीय जयप्रकाश कुमार रहेका छन्।
एउटा मोटरसाइकल, ३ थान मोबाइल फोनसहित बरामद गरिएको प्रहरीको भनाइ छ। पक्राउ परेकालाई थप कारबाहीका लागि प्रहरी चौकी मठियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमावर्ती क्षेत्रमा पछिल्लो समय नक्कली नोटको आवतजावत बढ्दो क्रमले सुरक्षा संयन्त्रप्रति प्रश्न उठाइरहेको स्थानीयवासीहरूको टिप्पणी छ।
