काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनलाई लिएर बढेको बहसमध्ये सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूसँग स्पष्ट शब्दमा आफ्नो धारणा राख्दै निर्धारित मितिमै महाधिवेशन हुने बताएका छन्। महामन्त्री गगनकुमार थापाले अतिरिक्त प्रस्ताव दर्ता गराएपछि ती पदाधिकारीहरू सभापति देउवासँग भेटमा पुगेका थिए।
भेटमा देउवाले महाधिवेशनको मिति अब संशोधन नहुने भन्दै विशेष महाधिवेशनबारे भइरहेको चर्चा असमय भएको टिप्पणी गरेका थिए। ‘कसले के भन्छ भन्ने अब विषय रहेन। कार्यतालिका सार्वजनिक भइसकेको छ, सोही मितिमा महाधिवेशन हुन्छ। तपाईंहरू बैठक गरेर सभापतिमा लड्ने एकजनाको नाम टुंगो लगाउनुस्,’ देउवाको भनाइ उद्धृत गर्दै स्रोतले जानकारी दियो।
सभापतिले संस्थापन पक्षका ‘सात भाइ’ लाई सभापति पदका लागि साझा उम्मेदवार छान्न आग्रहसमेत गरेका छन्। भेटका क्रममा पदाधिकारीहरूले महामन्त्री थापाप्रति रोष प्रकट गरेको स्रोतले जनाएको छ। महाधिवेशन नजिकिँदै गर्दा थापाले विशेष महाधिवेशनको प्रसंग उठाइरहनु संस्थागत रूपमा गलत संकेत हुने उनको भनाइ थियो।
एक पदाधिकारीका अनुसार, ‘महामन्त्रीले बैठकले तोकेको कार्यतालिका अनुसार काम गर्नुपर्छ। महाधिवेशन हुन्छ कि हुँदैन भन्ने भ्रम पाल्नु हुँदैन। विशेष महाधिवेशनको रटानले पार्टी कमजोर देखिन्छ।’
यसअघि सोमबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने निर्णय गर्दै कार्यतालिका पारित गरेको थियो। बैठकमा महामन्त्री थापाले नियमित महाधिवेशन हुन नसके स्वतः विशेष महाधिवेशनमा जाने विकल्पसहित अतिरिक्त प्रस्ताव दर्ता गराएका थिए।
महाधिवेशन नजिकिँदै गर्दा शीर्ष तहमा देखिएको मतभेदसँगै पार्टीभित्रको शक्ति–सन्तुलन र नेतृत्व चयनको तयारी तीव्र बन्दै गएको छ।
