काठमाडौं । सरकारले विशेष सेवा नियमावली संशोधन गरेको निर्णयसँगै लामो समयदेखि रोकिएको गुप्तचर विभागको बढुवा प्रक्रिया अघि बढ्ने तयारी भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यादेशमार्फत ऐन संशोधनपछि नियमावलीसमेत परिमार्जन गर्दै विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट हटाई गृह मन्त्रालय मातहत ल्याएको हो।
कानून संशोधन नहुँदा विभागभित्र बढुवा प्रक्रिया थन्किएर बसेको थियो। अब नियमावलीमा ‘प्रधानमन्त्री कार्यालय’का स्थानमा ‘गृह मन्त्रालय’ राखेर नयाँ बढुवा समिति गठन गर्ने तयारीसँगै रोकिएका सबै बढुवा प्रक्रिया अगाडि सारिने भएको छ।
गुप्तचर विभागमा साढे दुई महिनादेखि रिक्त रहेको एआईजी पद भर्न अब बाटो खुलेको छ। टेकेन्द्र कार्की विभागीय प्रमुखमा बढुवा भएपछि रिक्त बनेको यस पदका लागि नौ जना अनुसन्धान निर्देशकबीच प्रतिस्पर्धा छ।
२०७९ भदौ २१ मा डीआईजी
ओम खड्का
कृष्ण ढकाल
राम दास
प्रजेश हमाल
भिम बुढाथोकी
२०७९ वैशाख ५ मा डीआईजी
किशोर श्रेष्ठ
संजय यादव
२०७९ असार ११ मा डीआईजी
इन्द्रसिंह लामा
माधव तिमल्सिना
यसअघि विभागीय प्रमुख नियुक्तिमा नै सिनियरिटी बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो। त्यसैले यसपटक एआईजी बढुवामा पनि ‘जे पनि हुनसक्ने’ मनस्थिति विभागभित्र भेटिएको छ। एआईजी पद पूर्ति भएसँगै विभागमा तल्लो तहसम्म श्रृंखलाबद्ध बढुवा गर्ने तयारी गरिएको छ।
नियमावली संशोधनपछि दशकौंदेखि संरचनागत रूपमा अलमलिँदो अवस्थामा रहेको गुप्तचर विभागको प्रशासनिक काम काज स्पष्ट भएको तथा बढुवा प्रक्रिया नियमित हुने अपेक्षा गरिएको छ।
