धनगढी । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी युवाहरूलाई अरूले निर्माण गरिदिएका गलत र झुटा भाष्य बोकेर त्यसैको पछि लागेर यो नागरिक सरकारप्रति पनि सो खालको धारणा निर्माण नगर्न आग्रह गरेका छन्।
युवा शक्तिको बलमा गठन भएको यो सरकार कुशासनलाई अन्त्य गर्न कै लागि भनेर सुशासनको जगमा टेकेर अहिलेको वर्तमान समयमा युवा वर्गले राखेको अपेक्षा र देशमा देखिएका अनेकन समस्याहरुको हल गर्न तर्फ यो सरकार प्रतिबद्ध रहेको पनि मन्त्री अर्यालले धनगढीमा उपलब्ध भएका जेनजीहरुसँग मङ्गलवार सो धारणाराखेका हुन्।
अरू विरोधी शक्ति र समुहले निर्माण गरिदिएको गलत र झुटा भाष्यको पछि लागेर युवाहरूले पनि यो सरकार पनि उस्तै रहेछ भन्ने गलत बुझाइ राख्न नहुने तर्क गर्दै मन्त्री अर्यालले भने, ‘भदौ २३ को घटनाको सन्दर्भमा पुलिस प्रशासन, कानुन, अदालत र सरकारले नै गठन गरेको उच्च स्तरीय जाँच बुझ आयोगले आआफ्नो तरिकाले काम गरिरहेकोले अहिले नै सबै थोक खतम भयो, केही भएन र जेनजीले न्याय पाउन सकेन भनेर निराश हुने पर्ने छैन, हामी न्याय, सुशासन, र भ्रष्टाचार अन्त्यका लागि काम गर्दै छौ।’
यो सरकार जेनजी आन्दोलनमा मृत्यु भई शाहदत प्राप्त गरेका युवाहरू, उनीहरूका आश्रित परिवार तथा सम्पूर्ण घाइतेहरूको लागि यो सरकारले गर्नु पर्ने सम्पूर्ण आवश्यक निर्णयहरू गर्दै गइरहेको र उनीहरूकै सम्मान र बलिदानको सम्झना गर्दै जेनजी सहिद दिवस मनाउने निर्णयसमेत यो सरकारले गरिसकेको कुरा मन्त्री अर्यालले बताए।
शहिद योद्धा उद्यान र उनीहरूको सालिक निर्माणका पनि यो सरकारले काम अघि बढाई सकेको पनि उनले जानकारी दिए। भेटका क्रममा मन्त्री अर्यालले जेनजी युवाहरूलाई गलत नगरेका युवाहरू समाजमा लुकेर बस्नु नपर्ने बरु कानुनलाई सघाएर गलत तथ्यहरू छन् र कोही निर्दोष फसेका छन् भने प्रहरी प्रशासनलाई अनुसन्धानमा सघाउन आग्रह गरे।
युवाहरूले राखेका धारणा र मागहरू सुनी सकेपछि मन्त्री अर्यालले यो सरकारले कोही युवा शक्तिलाई पक्षपात नगर्ने र विना आधार र प्रमाण हेरेर मुद्दा चल्ने नचल्ने सबै निर्क्योल गरेर मात्रै प्रहरी प्रशासनले आफ्नो कदम चल्ने कुरा स्पष्ट पारे।
