विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशको स्वाधीनताको रक्षाका लागि नेपाली जनतालाई फौजको रूपमा विकास गर्नुपर्ने बताएका छन् ।
विराटनगरमा भएको एकता सन्देश सभामा बोल्दै उनले देशको रक्षाका लागि नेपाली जनताको फौज बनाउन नसके देशै नरहने अवस्थामा पुगेको दाबी गरे । उनले राष्ट्र अहिले पनि सङ्कटमुक्त भइनसकेको अवस्थामा रहेको बताए ।
दाहालले भने, ‘हाम्रो सेनाले चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । केही घण्टा राज्यविहीनताको अवस्थामा पुग्यो । दुई दिनसम्म नेपाल रहने हो कि होइन भन्ने अवस्थामा पुग्यो । ’
सेनाले मात्रै देशको रक्षा गर्न सक्ने अवस्था नभएको दाबी गर्दै उनले भने, ‘अहिले नै हाम्रो सेना विदेशी शक्तिसँग लड्न सक्ने अवस्थामा छैन । फेरि पनि त्यस्ता घटना आउन सक्छन् । स्वाधीनताको रक्षाको लागि ३ करोड नेपालीको फौज बनाउनु पर्छ । यदि ३ करोड नेपाली नै देशको लागि जरुरी पर्दा मर्न तयार हुने हो भने दुनियाँको कुनै तागतले नेपालीलाई हराउन सक्दैन ।’
जनताको तागतले मात्रै साम्राज्यवादीहरूलाई पराजित गर्न सक्ने उनको भनाइ थियो । जेन-जी आन्दोलन पछिको अवस्था सम्झिँदै प्रचण्डले त्यो बेला चारैतिर सन्त्रास भएको बताए ।
