काठमाडौं । जेनजी प्रदर्शनका क्रममा हतियार तथा बन्दोबस्तीका सामग्री जोगाउन नसकेको आरोपमा सशस्त्र प्रहरीका डिएसपी गौतम कुँवरसहित १७ जनामाथि विभागीय कारबाही सिफारिस गरिएको छ।
सशस्त्र नायब महानिरीक्षक (डिआईजी) कमल गिरी नेतृत्वको आन्तरिक छानबिन समितिले मिनभवन बेसका १३ र झापाको बेलडाँगीमा खटिएका ४ जनालाई कारबाहीको दायरामा लिन सुझाव दिएको हो।
भदौ २४ को प्रदर्शनमा मिनभवन र बेलडाँगीस्थित सशस्त्र बेसमा तोडफोड, आगजनी र हतियार लुटपाट भएको थियो। मिनभवनबाट हराएको २० एसएलआरमध्ये ११ जलेको अवस्थामा फेला परेका छन् भने विभिन्न स्थानबाट करिब १५–२० थान हतियार पुनः बरामद गरिएको छ।
घटनापछि मिनभवनस्थित बेस हटाइएर त्यहाँ नम्बर–९ पशुपति बाहिनीको मुख्यालय स्थापना गरिएको छ। प्रदर्शनका क्रममा सशस्त्र प्रहरीका ५० भन्दा बढी सवारीसाधनमा पनि आगजनी गरिएको थियो।
