काठमाडौं । नेपाल प्रहरीमा वरिष्ठ उपरीक्षक (एसएसपी)का ७ सिट रिक्त छन्। कात्तिक १७ गते पाँच अधिकारी डिआईजीमा बढुवा भएपछि रिक्त पद बढेको र पछि विश्व अधिकारी डिआईजीमा पदोन्नति तथा एसएसपी प्रकाश रानाभाटको राजीनामा स्वीकृत भएपछि खाली सिट संख्या सात पुगेको हो।
यी सिटका लागि हाल १७ जना प्रहरी उपरीक्षक (एसपी) प्रतिस्पर्धामा छन्। सूचीको शीर्ष स्थानमा राष्ट्रिय अनुसन्धान विभागबाट प्रहरीमा स्थान्तरण भएका विमल बस्नेत र रामप्रकाश शाह छन्। बस्नेत यतिञ्जेल बढुवामा पटक–पटक छुट्दै आएका अधिकारी हुन्।
उनीहरूका पछाडि जनपद समूहका एसपीहरू भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेश काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नकुल पोख्रेल, पदम विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्र श्रेष्ठ, दिलीप घिमिरे, वीरेन्द्रबहादुर शाहीलगायत प्रतिस्पर्धामा छन्।
वरीयताको चौथो नम्बरमा रहेका ऋषिराम कँडेल केन्द्रीय विशेष कार्यदल (सीआईटीएफ) प्रमुख हुन्। जेनजी प्रदर्शनका दिन संसद् परिसरको सुरक्षामा खटिएको टोलीमा उनी सक्रिय थिए। यस्तै एसपी सुरेश काफ्ले युएन मिसनमा लामो अनुभवसहित अहिले सर्वोच्च अदालत समन्वय तथा सुरक्षा इकाइ प्रमुखका रूपमा कार्यरत छन्।
मकवानपुर प्रहरी प्रमुख रहेका सुवास बोहरा भदौ २४ को प्रदर्शनमा प्रहरी प्रधान कार्यालय जोगाउने टिमको नेतृत्वकर्ताका रूपमा चर्चामा आएका थिए। रौतहट जिल्लाको सफल कमाण्ड सम्हालेका एसपी दिलिप घिमिरे प्रहरीभित्र काबिल र बलियो कमाण्ड क्षमता राख्ने अधिकृतका रूपमा परिचित छन्।
यस्तै उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रजित केसीले जिल्ला प्रहरी परिसर भक्तपुरको सफल कमाण्ड सम्हाले। संगठनमा इमान्दार अधिकृतको रुपमा चिनिएका भुवनेश्वर तिवारी अहिले प्रतिस्पर्धाको तेस्रो बरियतामा छन्।
यसबीचमा बढुवाको चाप बढेपछि संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) मार्फत प्रहरीमा दरबन्दी हेरफेर सुरु भएको छ। प्राविधिक समूहतर्फ रहेका दुई एसएसपी दरबन्दी केनाइन कार्यालय र सवारी महाशाखाबाट जनपद समूहमा सारिने तयारी भइरहेको एक उच्च प्रहरी अधिकृतले बताए।
यी दुई सिट स्थान्तरण भएपछि एसएसपी बढुवा सिफारिस गर्न सहज हुने अपेक्षा छ।
ओएण्डएम समिति गृह मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीको संयोजकत्वमा गठन गरिएको छ। समितिमा नेपाल प्रहरीका डिआईजी दीपक रेग्मी, अर्थ मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयका प्रतिनिधिहरू सदस्य छन्।
साथै, प्रहरी प्रधान कार्यालयले अस्पतालको डिएसपी र एसपी दरबन्दी मिलान, अख्तियारमा कार्यरत फरेन्सिक विज्ञ तथा सम्पत्ति शुद्धीकरण विभागमा खटिएका प्रहरी अधिकृतहरूको समायोजन गर्ने तयारी पनि अघि बढाएको छ।
