काठमाडौँ । हायात रिजेन्सीस्थित प्राइड क्यासिनो भदौ २४ मा जेनजी प्रदर्शनको अवसर पारेर त्यहीँ टेबल चलाउने समूहबाटै लुटिएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ।
लुटमा संलग्न आरोपमा ‘सेठ्ठी’ भनेर चिनिने दावा शेर्पा र ‘रने’ भनेर चिनिने रञ्चित खड्गी पक्राउ परेका छन्। क्यासिनोमा टेबल सञ्चालन गर्ने सेठ्ठीले घरेलु हतियारसहित समूह लिएर प्रवेश गरी लुटपाटको नेतृत्व गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले बताए।
अनुसन्धान अनुसार, पहिलो चरणमा ‘रने’ समूह क्यासिनोमा प्रवेश गरी तोडफोड र आगजनी गरेको, त्यसपछि सेठ्ठी समूह भित्रिएको पाइएको छ। क्यासिनो सञ्चालकका अनुसार सोहीबेला करिब १४ करोड रुपैयाँ नगद लुटिएको दाबी छ।
लुटपाटमा काभ्रेली समूहका सदस्यहरूको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ। सीसीटीभी र भिडियोका आधारमा थप पहिचान भइरहेको छ।
होटल हायात रिजेन्सीले घटनाबारे प्रहरीमा जाहेरी दिएपछि विस्तृत अनुसन्धान जारी छ।
