टोकियो । नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले प्रवासमा रहेर पत्रकारिता गरेपनि पत्रकार आचारसंहिता उत्तिकै पालना गर्नुपर्ने आवश्यकता रहेको बताइन् ।
नेपाल पत्रकार महासंघ जापान शाखाको छैटौं अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिको शपथग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले प्रवासबाट पत्रकारिता गरे पनि पत्रकार आचारसंहिता पालना गर्न सबै पत्रकारहरुलाई आग्रह गरिन्।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष शर्माले तोकिएको समयमा नै निष्पक्ष निर्वाचन हुनुपर्ने कुरामा समेत जोड दिइन्।
यस्तै कार्यक्रममा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछाने, नेपाल पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्ल, पूर्व अध्यक्ष मोहन घले, निवर्तमान अध्यक्ष शान्त पहरी तथा नव(निर्वाचित अध्यक्ष रविन्द्र श्रेष्ठले मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको शपथग्रहण, प्रमाणपत्र वितरण तथा पदभार हस्तान्तरण गरिएको थियो।
छैटौं अधिवेशनले रविन्द्र श्रेष्ठलाई अध्यक्ष, मनिषा चम्लागाई र लक्ष्मी शर्मालाई उपाध्यक्ष, अर्जुन लामिछानेलाई सचिव, विष्णु सापकोटालाई सहसचिव, फुर्वा शेर्पालाई सहसचिव र निशान रानालाई कोषाध्यक्षमा निर्वाचित गरेको थियो।
अधिवेशनबाट दिनेश थापा, भवानी भट्ट, रामचन्द्र गिरी, भुवन भण्डारी, दुर्गा प्रसाद आचार्य र विनोद ढकाल सदस्यमा निर्वाचित भएका थिए।
कार्यक्रम निर्वाचन समिति संयोजक खगराज गौतमको अध्यक्षता, सदस्य खड्का गुरुङको स्वागत मन्तव्य तथा सदस्य पूर्ण चलाउनेको सञ्चालनमा सम्पन्न भएको थियो।
त्यसैगरी, नेपाल पत्रकार महासंघ जापान शाखाले ‘प्रवासमा जिम्मेवार पत्रकारिता र सामाजिक सञ्जालको प्रयोग’ विषयक एकदिने प्रशिक्षण कार्यक्रम पनि सम्पन्न गरेको छ।
