काठमाडौँ । प्रहरी वृत्त स्वयम्भूले पछिल्ला महिनामा अपराध नियन्त्रण र जनसुरक्षामा देखाएको सक्रियताले स्थानीयवासीको विश्वास उल्लेख्य रूपमा बढेको छ। जेएनजी आन्दोलनपछिको परिवेशमा प्रहरी–नागरिक समन्वयलाई मजबुत बनाउँदै वृत्तले लैंगिक हिंसा न्यूनीकरणदेखि चोरी, लुटपाट, गुण्डागर्दीसम्मका गतिविधिमा कडाइ गरेको छ।
स्वयम्भू क्षेत्रमा नागरिकमैत्री सुरक्षा वातावरण निर्माण गर्ने उद्देश्यका साथ वृत्तले निरन्तर ‘घरदैलो कार्यक्रम’, सचेतना अभियान र गस्ती गतिविधि विस्तार गर्दै आएको छ। स्थानीयहरूका अनुसार प्रहरीको सक्रियताले शान्ति-सुरक्षामा सकारात्मक परिवर्तन दैनिक रूपमा अनुभूति हुने गरेको छ।
वृत्तका इन्चार्ज प्रहरी नायब उपरीक्षक (डिएसपी) मोहन मणि आचार्यका अनुसार ‘राजनीतिक हैसियत वा पहुँचले अपराध ढाकछोप गर्न नसक्ने वातावरण बनाउनु’ वृत्तको प्रमुख प्रतिबद्धता रहेको छ।
यस्तै देशभर चलिरहेको १६ दिने लैंगिक हिंसा विरुद्धको अभियानलाई समेत वृत्तले मजबुत रूपमा अघि बढाइरहेको छ।
समाजमा लैंगिक न्याय, मानवअधिकार र सुरक्षित वातावरण निर्माणका लागि वृत्तले विद्यालय, स्थानीय समुदाय र संस्थाहरूसँग सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।
स्वयम्भू क्षेत्रका स्थानीयवासीका अनुसार वृत्तको सक्रियता, तत्परता र नियमित अनुगमनका कारण क्षेत्रीय सुरक्षामा सुधार आएको छ। चोरी, लुटपाट र अन्य जघन्य अपराधमा उल्लेख्य कमी देखिनु, नागरिकलाई प्रहरी सेवाको प्रत्यक्ष अनुभूति गराउनु वृत्तको प्रभावकारी भूमिकाका प्रमाण भएको उनीहरू बताउँछन्।
स्वयम्भू वृत्तले आगामी दिनमा पनि प्रहरी–नागरिक समन्वयसहित अझ प्रभावकारी सुरक्षा प्रणाली विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।
