रौतहट । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर नगरक्षेत्रमा प्रहरीले दुई दिनभित्र लागूऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ। गाँजा र ब्राउन सुगरसहित विभिन्न स्थानबाट भएका यी पक्राउहरूले नगरक्षेत्रमा लागूऔषध नियन्त्रण अभियान थप कडा रूपमा अघि बढेको संकेत दिएको छ।
गत आइतवार राति चन्द्रपुर–५ सुन्दरबस्ती टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका सई अनिल तामाङको कमाण्डमा गएको टोलीले राति साढे ७ बजे ३३ वर्षीय सुमन तामाङ योन्जनको घरमा तलासी गर्दा पलङको घर्रामा लुकाइछिपाइ राखिएको ४ किलो ७५० ग्राम गाँजा फेला पारेको डीएसपी रुपा लाबुङले बताइन्।
साथै गाँजा बिक्रीबाट संकलन गरिएको अनुमान गरिएको नगद ८,१८० रुपैयाँ समेत बरामद गरिएको प्रहरीले जनाएको छ। योन्जनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।
यसअघि शनिबार राति बैंकिङ कसुरमा फरार रहेका प्रतिवादी ३२ बर्षीय भोला साह कलवारलाई चन्द्रपुर–४ गौर रोड नजिकैबाट असई निलेश पाठकको कमाण्डमा गएको टोलीले पक्राउ गरेको थियो। चेकजाँचका क्रममा कलवारले लगाएको पाइन्टको गोजीबाट १९० मिलिग्राम ब्राउन सुगर फेला परेको प्रहरीले बताएको छ।
कलवारको बयानका आधारमा चन्द्रपुर–६ का २८ बर्षीय राजेश राईलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक (डिएसपी) एवंम् प्रवक्ता बिष्णु प्रदीप बस्यालले जानकारी दिए।
पक्राउ परेका तीनैजनालाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा राखी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। लगातार दुई दिनमा भएका यी कारबाहीले चन्द्रपुर क्षेत्रमा बढ्दो लागूऔषध समस्या नियन्त्रणमा प्रहरीले गम्भीरता देखाएको प्रष्ट भएको छ ।
