काठमाडौं । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले १०० वटा पिकअप पट्रोल भ्यान खरिद प्रक्रिया अघि बढाएको छ। अर्थ मन्त्रालयले सहमति दिएसँगै प्रहरीले टेन्डर आह्वान गरिसकेको छ भने मंसिर ७ मा बिड खुल्नेछ।
यसअघि ८५ गाडी खरिदका लागि टेन्डर आह्वान भएको थियो। त्यसमा ७५ वटा पिकअप पट्रोल भ्यान र १० वटा विद्युतीय स्कर्ट भ्यान खरिदको ठेक्का क्रमशः अग्नि इन्कर्पोरेट र सीजी मोटर्सले पाएका छन्।
महिन्द्राको स्कोर्पियो पिकअप भ्यान प्रतिगोटा करिब ४२ लाखभन्दा कम मूल्यमा सम्झौता हुने भएकाले १५ दिनभित्र नै सम्झौता सक्ने तयारी भएको प्रहरीले जनाएको छ।
जेनजी आन्दोलनमा १८२ वटा प्रहरी सवारी आगजनीमा परेपछि ‘विशेष अवस्था’ भन्दै प्रहरीले गाडी खरिदलाई फास्ट ट्रयाकमा अघि बढाएको हो। चुनावअघि नै गाडी उपलब्ध गराउनेगरी सम्झौता हुने बताइएको छ।
यस्तै, आन्दोलनपछि प्रहरीले ६ सय हेलमेट खरिद गरिसकेको छ भने चार हजार थान ‘राइट कन्ट्रोल गियर’ मंसिर १५ भित्रै प्राप्त गर्नेगरी सम्झौता भएको छ।
देशभरका युनिटमा अश्रुग्यास र भिड नियन्त्रण उपकरणको ठूलो अभाव रहेको प्रहरी स्रोत बताउँछ। यसै क्रममा निर्वाचनअघि २४ हजार सेल अश्रुग्यास खरिद प्रक्रिया पनि अघि बढेको छ, तर ६ हजार ३ सय सेल मात्रै समयमै आइपुग्ने अनुमान छ।
