काठमाडौं । इन्टरपोलको ९३औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) राजन अधिकारीको टोली मोरक्को प्रस्थान गरेको छ ।
इन्टरपोल महासचिवालयको आयोजनामा मोरक्कोको माराकेचमा यही मङ्सिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने महासभामा सहभागी हुन एआइजी अधिकारीसहितको टोली आज साँझ त्यसतर्फ प्रस्थान गरेको हो ।
एआइजी अधिकारीसँगै इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक रूपेश खड्कासमेत त्यसतर्फ प्रस्थान गरेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
चार दिनसम्म सञ्चालन हुने महासभामा अन्तरराष्ट्रियस्तरमा हुने अपराधको रोकथाम तथा न्यूनीकरणका लागि इन्टरपोलका विभिन्न नीति निर्माणका प्रक्रियाबारे सम्पूर्ण सदस्य राष्ट्रहरूको सहभागितामा छलफल हुनेछ ।
यस्तै, इन्टरपोलको कार्यकारिणी समितिका विभिन्न रिक्त पदका लागि निर्वाचन र मतदानसमेत हुने कार्यक्रम रहेको छ । महासभामा इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रका प्रतिनिधि सहभागी हुने र महत्त्वपूर्ण विषयमा मतदानद्वारा निर्णय गरिने प्रावधानअनुसार नेपालले पनि त्यसमा भाग लिने कार्यक्रम रहेको छ ।
एआइजी अधिकारीको नेतृत्वमा सहभागी हुने प्रतिनिधिमण्डलले इन्टरपोलका अध्यक्ष तथा महासचिवसँग शिष्टाचार भेटघाट एवम् मित्रराष्ट्रहरू कतार, भारत, फ्रान्स, जापान, मलेसिया, साउदी अरब र युएईका प्रतिनिधिसँग समसामयिक विषय छलफल गर्ने कार्यसूची छ ।
यसैगरी अन्तरराष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउनेलगायत विषयमा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको जानकारी दिइएको छ ।
