काठमाडौं । अवैध लागूऔषध ओसारपसारको आरोपमा पक्राउ परेका एक भारतीय नागरिकले कपिलवस्तु जिल्लास्थित प्रहरी हिरासत कक्षको शौचालयमा झुन्डिएर आत्महत्या गरेका छन्।
सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका ३९ वर्षे विनोदकुमार निसाद राति करिब १ बजेतिर शौचालयमा गएका थिए।
लामो समयसम्म नफर्केपछि सँगै सुतेका थुनुवाले प्रहरीलाई खबर गरे।
प्रहरी टोली पुगेपछि निसाद शौचालयको भेन्टिलेसनमा ब्ल्याङ्केटको बिट उधारेर बनाएको पासोमा झुन्डिएको अवस्थामा फेला परेका थिए।
भारतको सिद्धार्थनगर जिल्लाको दुनेथा दमनका निसाद १९ दिनअघि पक्राउ परेका थिए।
कार्तिक १४ गते राति भारतबाट ७९.६४ ग्राम खेरो (हिरोइन) ल्याउँदै गर्दा उनी समातिएका थिए।
घटना बाहिरिन नदिई गुपचुप राखिएको आरोप लगाइएकाे छ। अनावश्यक झमेला र तनाव हुन नदिन घटनालाई सार्वजनिक नगरिएको प्रहरी स्रोतले बताएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रिपेन्द्रकुमार सिंहका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
