काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रहरीको मनोबल उठाउन सरकार सक्रिय रहेको बताएकी छिन्। बुधबारको सर्वदलीय बैठकमा बोल्दै उनले ३५ वर्षमा प्रहरीको मनोबल घटाइएकोमा अहिले स्रोतसाधन जुटाएर प्रहरीलाई बलियो बनाउने काम भइरहेको बताएकी हुन्।
‘प्रहरीमा नयाँ नेतृत्व आइसकेको छ र एक्सनमा जाने अवस्था छ। प्रहरीको मनोबल हामीले २ महिनामा खस्काएका होइनौँ। हिजो गैरघातक सामग्री र अरु बन्दोबस्तीका सामान हामीले नदिएका हैनौँ,’ उनले भनिन्, ‘गृह र अर्थ मन्त्रालयमा फाइल हामीले अड्काएका होइनौँ। बरु हामीले फटाफट काम अघि बढाएका छौँ।’
नेताको घरबाट सुरक्षाकर्मी फिर्ता गरिएको र प्रहरीले गर्व गर्ने संगठन बनाउने प्रयास भइरहेको उनको भनाइ छ। ‘नेता र तिनका आफन्त नातेदारहरूका घरमा भाँडा माझ्न पनि प्रहरी राखिएका थिए हिजो। तिनलाई फिर्ता गरेका छौँ। अब भन्नुहोस् मनोबल कसले घटायो र बढायो?’ उनले भनिन्, ‘३५ वर्षमा घटाइएको मनोबल एकपछि अर्को गरी उठाउँदै छौँ हामी। सम्पूर्ण साधन पनि जुटाउँदै छौँ। प्रत्येक प्रहरी कर्मचारीको शिर उठाउने र तिनले गर्व गर्न सक्ने संगठन होस् भनेर हामी निर्णयहरू गर्दै छौँ।’
सो बैठकमा उनले सुशासनका लागि सरकारले प्रयास गरिरहेको र निर्वाचनका लागि सबै दल अग्रसर हुुनुपर्नेमा जोड दिइन्।
