काठमाडौं । सिन्धुलीको ढुंग्रेबास चेकपोस्टमा इन्चार्जका रूपमा बसेका असई हरिन्द्र ठाकुरमाथि तस्करी, अवैध उठ्ती र गाँजा कारोबारसम्म ‘सेटिङ’ गरेको आरोप छ। चेकपोस्टमा दिनहुँ १५-२० हजार रुपैयाँसम्म नगद उठ्ने र सो रकम प्रदेश प्रहरी प्रमुखसम्म पुग्ने गरेको छ।
स्रोतका अनुसार असई ठाकुर करिब एक वर्षदेखि ढुंग्रेबास चेकपोस्टका इन्चार्ज छन्। चेकजाँचका नाममा दैनिक उठ्ने रकममाथि उनी र नजिकका अधिकारीहरूको प्रत्यक्ष निगरानी रहने गरेको व्यापारीहरूले बताएका छन्।
गाँजा खेतीमा ‘लाइने’ भूमिका? कानेश्वरदेखि ढुंग्रेबाससम्मको नेटवर्क
सिन्धुलीको क्यानेश्वर क्षेत्र लामो समयदेखि गाँजा खेतीको मुख्य केन्द्रका रूपमा चिनिन्छ। स्थानीयहरूले बताएका अनुसार यहाँ करिब ३०-४० बिगाहासम्ममा अवैध गाँजा खेती हुँदै आएको थियो।
त्यो समयमा असई ठाकुर क्यानेश्वर प्रहरी चौकीमै कार्यरत थिए। गत वर्ष गाँजा काट्ने सिजनमै उनले ‘सेटिङ’ मिलाएको आरोप सार्वजनिक भएपछि उनलाई जिल्ला तानिएको थियो। तर, कारबाहीको साटो सिधै ढुंग्रेबास चेकपोस्टको इन्चार्ज बनाइएको स्रोत बताउँछ।
स्थानीय व्यापारी रुपेश लामालाई क्यानेश्वर क्षेत्रमा गाँजा खेती तथा पैठारीका ‘सेटर’का रूपमा चिनिन्छ। लामासँग असई ठाकुरले समन्वय गर्ने गरेको स्थानीयहरूको दाबी छ।
स्रोतहरूको भनाइअनुसार असई ठाकुरले सिन्धुलीका एसपी लालध्वज सुवेदीको नाममा मासिक रकम पठाउने ‘ठेक्का’ लिएको बताइन्छ।
त्यस्तै, बागमती प्रदेश प्रहरीका डिआईजी अरुण पौडेलकोसँग पनि उनको विशेष पहुँच रहेको र क्राइम इन्चार्जकै रूपमा असई ठाकुरलाई मौखिक रूपमा प्रयोग गर्ने गरेको व्यापारीहरू बताउँछन्।
हवल्दार यादव–असई ठाकुर जोडीको ‘दबदबा’
भिमान इलाका प्रहरी कार्यालयमा कार्यरत हवल्दार रामअजुदिया यादव असई ठाकुरका अत्यन्त नजिकका मानिन्छन्। यी दुईले विभिन्न तस्करहरूसँगको समन्वय, उठ्ती र सुरक्षा ‘सेटिङ’ मिलाउने गरेको व्यापारीहरूको आरोप छ।
हवल्दार यादवको कपडा, चिनी, गोरु, किराना, चामल–भात तस्करहरूसँग राम्रो नाता रहेकोले ठाकुरले उनलाई सबै ठाउँमा लिएर हिँड्ने गरेको बताइन्छ।
सिन्धुलीमा सक्रिय तस्करहरूको सूचीमा स्थानीय स्रोतले यस्ता नामहरू उल्लेख गरेका छन्-
कपडा तस्कर- दामोदर खड्का, दिनेश चौधरी
चिनी–किराना तस्कर- शंकर साह
चामल–तेल तस्कर- विरेन्द्र शाह (भारतबाट सामान ल्याई दोलखा, रामेछाप र सिन्धुलीमा पु¥याउने)
महोत्तरीका कुख्यात तस्कर ‘कालिया राजा’ जसले बागमति प्रदेशका डिआईजीसम्म ‘सेटिङ’ मिलाउने गरेको दाबी छ। यी सबैसँग असई ठाकुर र हवल्दार यादवको नजिकको सम्बन्ध रहेको व्यापारीहरूले आरोप लगाएका छन्।
सिन्धुलीमा प्रहरी घुमुवा प्रणाली सक्रिय छ भन्ने आरोप छ। तस्करीतर्फका सूचना, रकम उठ्ती र कर्मचारी चलायनसम्ममा घुमुवा नेटवर्कको प्रभाव रहेको बताइन्छ।
