काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले सामाजिक सञ्जालको दुरुपयोग बढ्दै जाँदा सामाजिक सुरक्षामा नयाँ चुनौती थपिएको बताएका छन्।
अपराध अनुसन्धान विभागको ७० औँ स्थापना दिवसका अवसरमा आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले सामाजिक सञ्जालमार्फत भइरहेको दुरुपयोगले आपराधिक गतिविधि छिटो फैलिनुका साथै अनुसन्धानको दायरा पनि जटिल बन्दै गएको बताएका हुन्।
उनकाअनुसार लागूऔषधको दुर्व्यसन तथा कारोबार, क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ, स्क्यामिङ, मानव बेचबिखन तथा ओसारपसार, आर्थिक अपराधदेखि आत्महत्यासम्मका घटनामा डिजिटल प्लेटफर्मको व्यापक दुरुपयोग देखिन थालेको छ।
यस्ता गम्भीर र अन्तर्देशीय प्रकृतिका आपराधिक घटनाको प्रभावकारी अनुसन्धानका लागि क्षमतावृद्धि तालिम अहिलेका लागि अत्यावश्यक रहेको महानिरीक्षक कार्कीले स्पष्ट पारे।
फैसला कार्यान्वयन, फरार प्रतिवादीको खोजतलास र पक्राउ कार्यलाई प्राथमिकतामा राखी छिटो नतिजा आउने गरी काम गर्न निर्देशन दिए। विगतमा पेन्डिङ अवस्थामा रहेका महत्वपूर्ण आपराधिक मुद्दाहरूलाई समेत प्राथमिकतामा राखेर वैज्ञानिक र प्रभावकारी अनुसन्धान गर्न उनले मातहतका अधिकारीहरूलाई आग्रह गरे।
नवनियुक्त प्रहरी महानिरीक्षकका रूपमा पहिलो सार्वजनिक निर्देशन दिँदै कार्कीले निष्पक्ष, प्रमाणमुखी र वैज्ञानिक अनुसन्धान प्रक्रियाले अपराधीलाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। उनले पीडित पक्षलाई न्याय दिलाउँदै समाजमा प्रहरीप्रतिको विश्वास र प्रतिष्ठा बढाउने गरी प्रहरी संयन्त्र अझै जिम्मेवार र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौरले हालको अपराध नियन्त्रणको अवस्था, चुनौती तथा सम्भावित समाधानका उपायबारे आफ्नो धारणा व्यक्त गर्दै विभागको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता बताएका थिए।
