रौतहट । कटहरिया नगरपालिकामा स्थानीय तहका जनप्रतिनिधिमाथि अनियमितताको आरोप त नयाँ होइन, तर यसपटक एक वडा सदस्यको कर्तुतले नैतिक पतनको चरम रूप उजागर भएको छ।
कटहरिया–१ का नेपाली कांग्रेसका वडा सदस्य सतलाल दासले विदेशमा रहेका नागरिककी श्रीमती, तीन छोराकी आमा तथा दलित समुदायकी महिलालाई ललाइफकाई भगाएको आरोप खुलेपछि गाउँ शोक र आक्रोशले थिलथिल भएको छ।
पीडित परिवारका अनुसार दासले मलेसियामा रहेका महिलाका श्रीमानले पठाएको १२ लाख रुपैयाँ नगद, झण्डै ३ लाख रुपैयाँका सुन-चाँदीका गरगहना सहित करिब १५ लाख बराबरको सम्पत्ति लिएर महिलालाई भगाएका हुन्।
महिलाकी सासु घुनिया देवी दासले भनिन्, ‘पाँच वर्षदेखि विदेशमा बस्ने छोराले पठाएको सबै पैसा र गहना लिएर बुहारीलाई भगाई निजगढ, बारा पुगेर एकै कोठामा राखेको प्रमाणसहित भेटिएको हो। गाउँकै मान्छे लिएर खोज्दा दुवैजना एउटै कोठामा फेला परे, हामीले समातेर प्रहरीलाई बुझाएका थियौँ।’
उनको आरोप अनुसार, बुहारीका नाममा रहेको ५ कठ्ठा जग्गा बैंकमा धितो राखेर वडा सदस्य दासले फेरि पनि पैसा निकालेका छन्।
प्रहरीमा बुझाएपछि राजनीतिक दबाब
बारा प्रहरीले पक्राउ गरेको दुवै जनालाई रौतहटको इलाका प्रहरी कार्यालय गरुडा हुँदै जिल्ला प्रहरी कार्यालय गौरमा लैजाँदा छलफलमा चर्को विवाद उत्पन्न भएको पीडित पक्षको दाबी छ।
छलफलका क्रममा कटहरिया नगरप्रमुख अजय प्रकाश जैसवालले उल्टै पीडित पक्षलाई, ‘सम्पत्ति आधा–आधा गर्ने’ प्रस्ताव राखेको आरोप सासु घुनिया देवीले लगाइन्। ‘दोषीलाई कारबाही गर्नुको सट्टा मेयरले पार्टीको नाममा अपराधी जोगाउने खेल चलाए,’ उनले गुनासो गरिन्।
यता रौतहट प्रहरीका प्रवक्ता डीएसपी बिष्णु प्रदीप बस्यालले कति पैसा र गरगहना लियो, कुन बैंकबाट कति निकाले— सबै प्रमाणसहित उजुरी दिन निर्देशन दिएको बताएका छन्। जिल्ला प्रहरी कार्यालयका उजुरी शाखा प्रमुख बरिष्ठ सई अरुण कुमार सिंहले पनि प्रमाण आएपछि कारबाही हुने बताए ।
तर पीडित परिवारका अनुसार, सोही बीचमा मेयर जैसवालले दासलाई जमानतमा लिएर आफ्नो गाडीमै लगिदिएको दाबी गरेका छन्।
स्थानीय तहमा आक्रोश, ‘जनप्रतिनिधिको चरित्रले गाउँ लाजमर्दो’
वडा–१ का अध्यक्ष भूपेन्द्र कुशवाहा भन्छन्, ‘तीन छोराकी आमा भगाएर दासले जघन्य अपराध गरेको छ। तर त्योभन्दा ठूलो अपराध मेयरले गरे-अपराधीलाई बचाउने प्रयास गरेर।’
उता पीडित महिलाका तीन साना छोराहरू, बुढी सासु घुनिया देवी र परिवारभरि नै अहिले ठूलो संकटमा परेका छन्। ‘गरिबको सम्पत्ति, बुहारी, बालबच्चा सबै लुट्नेहरूलाई मेयरले नै बचाएपछि हामी कहाँ गएर न्याय माग्ने ?’ घुनिया देवीको पीडा शब्दमा सीमित छैन।
भिडियो भाइरल, जनआक्रोश बढ्दै
पीडित परिवारले पत्रकारहरूसँग न्यायको माग गर्दै गरेको भिडियो सामाजिक संचारमाध्यम फेसबुकमा भाइरल बनेपछि देशभरबाट सहानुभूति र समर्थन बढेको छ।
सयौँ मानिसले भिडियो सेयर गर्दै दोषीलाई कडा कारबाही र पीडित परिवारलाई न्याय दिलाउन माग गरिरहेका छन्।
नगरभित्र मेयर जैसवालको भूमिका र चरित्रलाई लिएर स्थानीयवासी खुलेरै आलोचना गरिरहेका छन्। मेयरले भने आरोप खण्डन गर्दै आफू ‘छलफलमा मात्र सहभागी भएको’ दाबी गरेका छन्।
