काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआइजी) दान बहादुर कार्कीलाई सरकारले नेपाल प्रहरीको सर्वोच्च पदमा नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई ३३ औं प्रहरी महानिरीक्षक (आइजी) बनाउने निर्णय गरेको हो ।
कार्की संगठनभित्र इमानदार, अनुशासित र कामप्रतिको गहिरो प्रतिबद्धता राख्ने अधिकृतका रूपमा परिचित छन् । करिब तीन दशकअघि प्रहरी निरीक्षकका रूपमा सेवा प्रारम्भ गरेका कार्कीले संगठनभित्रका हरेक तहमा आफ्नो क्षमताको बलमा उत्कृष्ट नेतृत्वको परिचय दिँदै आएका छन् ।
इमान्दारी र निष्ठाका पर्याय
प्रहरी सेवामा रहँदा कार्कीलाई सहकर्मी र वरिष्ठ दुवैले ‘इमान्दार र शान्त स्वभावका अधिकारी’को रूपमा चिनेका छन् । उनले हरेक जिम्मेवारीमा पारदर्शिता र कानूनी औचित्यलाई प्रमुख प्राथमिकता दिए । प्रहरी संगठनलाई पेशागत र नीतिगत रूपमा सुदृढ बनाउन उनले नेतृत्व गरेका शाखा तथा कार्यालयहरू उदाहरणीय मानिन्छन् ।
कार्की प्रहरी संगठनभित्र ‘काम बोलेको अधिकारी’का रूपमा चिनिन्छन् । उनी मिडियासँग पनि सन्तुलित संवाद गर्न सक्ने, तथ्यमा आधारित प्रतिक्रिया दिने, र संगठनको मर्यादालाई उच्च राख्ने प्रवृत्तिका थिए ।
सेवायात्रा र अनुभव
दान बहादुर कार्कीले प्रहरी निरीक्षकका रूपमा करियर सुरु गरेका थिए । उत्कृष्ट कार्यसम्पादनका आधारमा क्रमशः डिएसपी, एसपी र एसएसपी हुँदै उनी संगठनभित्र नेतृत्व तहमा उक्लिए ।
२०८१ सालमा उनलाई नेपाल प्रहरीका प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी दिइएको थियो, जहाँ उनले संगठनको छवि सुदृढ बनाउन उल्लेखनीय योगदान पुर्याए । त्यसपछि २०८१ मंसिरतिर उनी प्रहरी नायब महानिरीक्षक (डीआईजी)मा बढुवा भए ।
२०८२ साल बैशाखमा उनलाई अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा सिफारिस गरिएको थियो, जहाँबाट अहिले आइजीमा उक्लँदै उनले संगठनको सर्वोच्च नेतृत्व सम्हालेका छन् ।
नेतृत्व क्षमताका कारण सम्मानित
कार्कीलाई संगठनमा निर्णय क्षमता, शान्त नेतृत्व शैली र सहकर्मीप्रति आदरभावका कारण सम्मान गरिन्छ । उनले जटिल र संवेदनशील विषयहरूलाई कानूनी र संस्थागत मर्यादाभित्र समाधान गर्ने क्षमता प्रदर्शन गरेका छन् ।
‘कार्की बोल्नभन्दा बढी काम गरेर देखाउने अधिकारी हुन् । उनीसँग संगठनप्रतिको निष्ठा र पेशागत इमान्दारी अद्वितीय छ,’ एकज आ सिनियर प्रहरी अधिकृतले भने ।
अब चुनौती र अपेक्षा
नेपाल प्रहरीको सर्वोच्च नेतृत्वमा पुगेका कार्कीका सामु अहिले संगठनलाई आधुनिक, पारदर्शी र जनमैत्री बनाउने ठूलो जिम्मेवारी रहेको छ । आन्तरिक अनुशासन सुदृढ गर्ने, अनुसन्धानलाई प्रविधिमैत्री बनाउने र अपराध नियन्त्रणमा नवीन सोचका साथ अघि बढ्ने उनको प्राथमिकता हुने अपेक्षा गरिएको छ ।
