काठमाडौं । नेपाल प्रहरीका ३२औं प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ आजबाट अवकाशमा गएका छन्। तर उनीसँगै अवकाशमा गएको छ- एक कालखण्डको असफलता, विवाद र ‘कलंक आईजीपी’ को उपनाम।
२ महिना छोटो अवधिमा प्रहरी संगठनको छविलाई गम्भीर रूपमा हल्लाउने निर्णयहरू, विवादास्पद सरुवादेखि बढुवासम्मको ‘सेटिङ्ग संस्कृति’, र संगठनभित्रको निराशाले उनको कार्यकाललाई सम्झनलायकभन्दा बढी समालोचनायोग्य बनाइदियो।
‘शान्त प्रहरी’ बाट ‘विवादित आईजीपी’ सम्म खापुङको यात्रा कहिल्यै हल्का थिएन। पूर्वी नेपालको एउटा सामान्य गाउँबाट प्रहरी सेवा प्रवेश गरेका उनले दशौँ वर्षको संघर्षपछि आईजीपीको कुर्सी ओगट- तर त्यस कुर्सीले उनलाई इतिहासमा सम्मानभन्दा बढी आलोचना दिलायो।
उनलाई प्रारम्भमा ‘संयमी’, ‘संस्थागत व्यक्ति’ भनेर चिनिन्थ्यो। तर आईजीपी भएपछि उनको छवि क्रमशः ‘निष्क्रिय र प्रभावहीन नेतृत्व’ का रूपमा विकसित भयो।
गृह मन्त्रालयसँगको अस्वस्थ सम्बन्ध, निर्णय क्षमताको कमी, र संगठनभित्र मनोबल खस्काउने प्रशासनिक शैलीका कारण खापुङमाथि विश्वास घट्दै गयो।
‘अपरेसन सेटिङ’ र बढुवाको बदनाम अध्याय
खापुङको कार्यकालको सबैभन्दा ठूलो दाग भनेको प्रहरी बढुवा-सरुवाको ‘सेटिङ खेल’ हो। गृहमन्त्री र आईजीपीको जोडीलै तयार गरेको भनिएको बढुवा सूचीमा योग्यता भन्दा बढी निकटता र चलखेल हावी भएको आरोप व्यापक छ।
‘शून्य सहनशीलता’ को नारा दिएर आएका खापुङ आफैं ‘शून्य हस्तक्षेप गर्न नसक्ने’ आईजीपी बने। त्यही कारण, संगठनभित्रका इमानदार र पेशेवर अधिकृतहरू निराश बने र बाहिर सार्वजनिक धारणा निर्माण भयो- ‘नेपाल प्रहरी अब पनि नेतृत्वको जालोमा फँसेको छ।’
नेतृत्वको असन्तुलन र मौन प्रहरी प्रमुख
खापुङको कार्यकालमा प्रहरी संगठनले ठूला घटना र चुनौतीहरू देख्यो- जेएनजी आन्दोलनमा गोली चल्दा युवाको मृत्यु, मधेशदेखि पहाडसम्म बढ्दो अपराध र आन्तरिक विभाजन।
तर ती सबै घटनामा आईजीपी खापुङको भूमिका मौन रह्यो। न त उनले स्पष्ट नेतृत्व देखाए, न त संस्थागत सुधारको संकेत। उनी जति चुप रहे, संगठनभित्रको असन्तुलन त्यति नै बढ्दै गयो।
प्रहरी भित्रका एक वरिष्ठ अधिकारी भन्छन्- ‘आईजीपी खापुङले संगठन चलाएनन्, संगठनले उनलाई धकेल्दै चलायो।’
इतिहासले के लेख्ने?
खापुङको नाम अब नेपाल प्रहरीको इतिहासमा ‘सबैभन्दा छोटो र विवादित कार्यकाल बोकेको आईजीपी’ भनेर लेखिनेछ।
उनी संस्थाभित्र शान्त, बाहिर विनम्र, तर नेतृत्वमा कमजोर रहे। उनको मौनताले संगठनभित्रको बेथितिलाई आवाज दियो- र अन्ततः, उनले त्यो आवाजसँगै आफ्नो कार्यकाल समाप्त गरे।
खापुङको अवकाश आज मात्र होइन, नेपाल प्रहरीको एउटा ‘निराश नेतृत्वकालको अवसान’ पनि हो।
अबको प्रश्न : कलंक मेट्ने कोसिस कि निरन्तरता ?
खापुङ अवकाशमा गएसँगै बचेको छ- असन्तुष्ट अधिकृतहरूको लामो सूची, अर्धराजनीतिक प्रभावको गन्ध, र संगठन सुधारका अपूर्ण प्रतिबद्धता।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीलाई आईजीपीमा नियुक्त गरेको छ । सम्भवतः आजै उनलाई दर्ज्यानी चिन्द प्रदान गरिनेछ ।
अब प्रहरीको नयाँ नेतृत्वको जिम्मा हुनेछ- कलंक मेट्ने कि निरन्तरता दिने?
