सञ्जय मिश्र
रौतहट । रौतहटको कटहरिया नगरपालिका अहिले आर्थिक स्वार्थ, सत्ता–संघर्ष र प्रशासनिक अराजकताको दलदलमा फसेको छ। नगर प्रमुख अजय प्रकाश जैसवालको ‘तलब खेल’ले नगरलाई अस्तव्यस्त मात्र बनाएको छैन, कर्मचारी र जनतासमेत मारमा परेका छन्।
नगरपालिकामा कार्यरत करिब ७० जना दैनिक ज्यालादारी र करार कर्मचारीहरूको वर्षौंको तलब रोकिएको छ। तर, मेयर जैसवालले १७० जनाको नाममा तलब निकासा गर्न दबाब दिँदै प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) गणेश नेपालीमाथि अनुचित प्रभाव पार्ने प्रयास गरेपछि विवाद चर्किएको हो।
उपसचिव नेपालीकाअनुसार, ‘७० जनासँग मात्र कागजात छन्, बाँकी १०० जनाको नियुक्तिपत्रसम्म छैन। यस्तो अवस्थामा सबैको तलब निकासा गर्नु कानुन विपरीत हुन्छ।’
नेपालीले यो विषयमा सामान्य प्रशासन मन्त्रालयलाई जानकारी गराइसकेका छन् र मेयरको दबाबपछि एक महिनाभन्दा बढी समयदेखि बिदामा बसेका छन्।
आन्दोलनले नवौं दिन पार गर्यो, नगरपालिका ठप्प
तलब–भत्ताको माग गर्दै अस्थायी र करार कर्मचारीहरूले गत बुधबारदेखि दोस्रो पटक नगरपालिका र ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन्। आजसम्म तालाबन्दीको नवौं दिन पुगेको छ। कार्यालयहरू बन्द भएपछि जनताका प्रशासनिक सेवा पूर्ण रूपमा ठप्प बनेका छन्।
कर्मचारी प्रमोद साह भन्छन्- ‘मेयरले हरेकपटक तलब दिने वाचा गर्छन्, तर कहिल्यै निकासा गर्दैनन्। असारमा डेढ करोड निकासा गराएको भनियो, तर त्यो पैसा कहाँ गयो, कसैलाई थाहा छैन।’
कर्मचारीहरूको भनाइमा उनीहरूले ६ देखि ३६ महिनासम्म तलब पाएका छैनन्, जसका कारण परिवार गुजारा चलाउन मुस्किल भएको छ।
उप–प्रमुख र वडा अध्यक्ष पनि आन्दोलनमा
गत सोमबार उप–प्रमुख रिता देवी यादवसहित ८ जना वडा अध्यक्षहरूले आन्दोलनमा खुलेर ऐक्यबद्धता जनाए।
कटहरिया–५ का वअध्यक्ष तथा कांग्रेस सभापति सर्फलाल गुप्ताले मेयरमाथि गम्भीर आर्थिक अनियमितताको आरोप लगाउँदै भने- ‘मेयरले कर्मचारी तलब, इन्धन र गाडीको नाममा हरेक वर्ष करोडौं निकासा गर्छन्। आफ्नै चिनिमिल र डिस्टिलरीका मजदुरको नाममा समेत पैसा झिकाएर भ्रष्टाचार गर्छन्।’
अख्तियारमा उजुरी, तर मौन छ प्रशासन
गुप्ताका अनुसार, एक जनप्रतिनिधिले गत असार मसान्तअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालमा उजुरी दिएका थिए। तर अहिलेसम्म कुनै कारवाही भएको छैन।
वडा नं. ४ का अध्यक्ष चन्दन कुशवाहा भन्छन्- ‘सात दिनदेखि कार्यालय बन्द हुँदा सयौं सेवाग्राही मारमा परेका छन्। मेयर सम्पर्कविहीन छन्, प्रहरी प्रशासन मौन छ। सिडिओ–एसपी किन मौन छन् ?’
आन्दोलनमा समर्थन जनाउँदै पूर्वमन्त्री प्रभु साह र एमाले केन्द्रीय सदस्य कुन्दन कुशवाहाले सामाजिक सञ्जालमार्फत लेखेका छन्- ‘दैनिक ज्यालादारीमा काम गर्ने कर्मचारी तलबका लागि आन्दोलनमा बस्नु लाजमर्दो अवस्था हो। सरकार र सम्बन्धित निकायले तुरुन्त समाधान गर्नुपर्छ।’
यस विषयमा बुझ्न खोज्दा नेपाली कांग्रेसबाट निर्वाचित मेयर अजय प्रकाश जैसवालको मोबाइल ९८५५०४१९५९ स्विच अफ छ। उनको नम्बर ह्वाट्सएपमा सक्रिय देखिए पनि, कल गर्नासाथ काट्ने गरेको कर्मचारीहरूको गुनासो छ।
