काठमाडौं । रुपन्देहीको भैरहवास्थित होटल निर्वाणा लक्जरी इन्टरनेसनल परिसरमा सोमबार मध्यरातमा गोली चलेको छ। रुपन्देही प्रहरी प्रमुख एसपी प्रदीप क्षेत्रीका अनुसार गएराति होटल निर्वाणाको क्यासिनोमा दुई समूहबीच विवाद भएको थियो।
विवाद गर्दै सो समूह होटलको गेट अगाडि आइपुगेको थियो। उक्त समूह होटलभित्र प्रवेश गर्न खोजेपछि सुरक्षागार्डले रोक्न खोज्दा अपरिचित व्यक्तिले सुरक्षागार्डमाथि गोली प्रहार गरेका थिए।
गोली लागेर बुटवल उपमहानगरपालिका-१५ का २७ वर्षीय मीनबहादुर परियार सामान्य घाइते छन्। घाइते परियारको राति भीम अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
गोली चलाउने समूहमा रहेका तीन जना फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
क्यासिनो सञ्चालनमा रहेको उक्त होटलमा दैनिक भारतीय नागरिक आउने जाने गर्छन्।
