रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई अपराध र अनुशासन उल्लङ्घनका विषयमा ‘शून्य सहनशीलता’ अपनाउन निर्देशन दिएका छन्।
आइतबार जिल्ला प्रहरी कार्यालय रौतहटको स्थलगत अनुगमन तथा निरीक्षणपछि डीआईजी थपलियाले रौतहट प्रहरी प्रमुख एसपी रबिन कार्कीलगायत सिंगो रौतहट प्रहरीलाई उक्त निर्देशन दिएका हुन्।
मधेश प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछिको यो पहिलो स्थलगत भ्रमण थियो। जिल्ला प्रहरी कार्यालय रौतहट पुगेका थपलियाले कार्यालय परिसरका सबै शाखा, थुनुवा हिरासत कक्ष, ब्यारेक भवन लगायतका संरचनाहरू अवलोकन गरेका थिए।
निरीक्षणका क्रममा उनले प्रहरी कर्मचारीहरूको कार्यसम्पादन, भौतिक संरचना, स्वच्छता तथा सेवा प्रवाहको अवस्थाबारे प्रत्यक्ष जानकारी लिए। साथै सुधार आवश्यक रहेका पक्षहरूमा ठोस सुझाव र निर्देशनसमेत दिएका थिए।
ब्रिफिङ सत्रमा डिआईजी थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई कानून कार्यान्वयनमा शून्य सहनशीलता अपनाउन, नागरिकमैत्री सेवा प्रवाहमा ध्यान दिन र संगठनको अनुशासन तथा इमानदारीलाई सर्वोच्च प्राथमिकता दिन निर्देशन दिए। साथै सीमावर्ती जिल्लामा तस्करी नियन्त्रण, आपराधिक गतिविधि नियन्त्रण र सूचनाको प्रभावकारी प्रयोगमा जोड दिए।
उक्त अवसरमा एसपी कार्कीसहित जिल्लाका सबै युनिट इन्चार्जहरू उपस्थित थिए।
रौतहटजस्तो सीमावर्ती जिल्लामा सुरक्षा चुनौतीहरू विविध र जटिल हुने भएकाले उच्चस्तरीय निरीक्षण र निर्देशनले स्थानीय प्रहरी संयन्त्रलाई बलियो बनाउने संकेत गरेको प्रहरी वृत्तमा टिप्पणी गरिएको छ।
यसअघि मधेश प्रदेशका तत्कालीन प्रमुख उमा प्रसाद चतुर्वेदी एआईजीमा बढुवा भई प्रहरी प्रधान कार्यालय सरुवा भएपछि डीआईजी थपलिया केही समयअघि मात्रै प्रदेश प्रहरी प्रमुखको रूपमा नियुक्त भएका हुन्।
