काठमाडौं । नेपाल प्रहरीमा हाल खाली रहेका ६ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पद पूर्तिको तयारी अन्तिम चरणमा पुगेको छ। तर बढुवा प्रक्रियाभन्दा पनि प्रहरी वृत्तमा अहिले एउटा डर हावी छ- कतै एसएसपी विश्व अधिकारीको नियति फेरि दोहोरिन्छ कि?
भदौ २३ गतेको ‘जेनजी विद्रोह’ का बेला काठमाडौं प्रहरी परिसर प्रमुख रहेका एसएसपी अधिकारी बढुवाको क्रममा डिआईजी सूचीमा परेनन्। उनी आफ्ना समकक्षीहरूमध्ये बरियतामा पहिलो नम्बरमा रहेका थिए। तर आन्दोलनको दमन र त्यसपछिका तोडफोडपछि राज्यको कोपभाजनका पहिलो सिकार बने।
छानबिनका लागि बनेको गौरीबहादुर कार्की आयोगले अहिलेसम्म प्रतिवेदन नल्याए पनि एसएसपी अधिकारीको करिअर त्यसैसँग रोकियो। त्यसयता प्रहरी संगठनभित्र एउटा मौन त्रास बस्दै गएको छ- ‘राजनीतिक जोखिम पर्ने जिम्मेवारी पाउँदा बढुवाको सम्भावना हराउँछ।’
६ पद रिक्त, दुई दर्जन प्रतिस्पर्धी
हाल डिआईजीमा बढुवा सिफारिस भएका भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अवि नारायण काफ्ले बढेपछि पाँच एसएसपी पद खाली भएका छन्। त्यसमाथि एसएसपी प्रकाश रानाभाटले राजीनामा दिएसँगै पद रिक्त संख्या ६ पुगेको हो।
यी पदमा बढुवा सिफारिसका लागि करिब दुई दर्जन प्रहरी उपरीक्षक (एसपी) प्रतिस्पर्धामा छन्। बढुवा समितिले प्रक्रिया सुरु गरिसकेको छ र डिआईजीहरूलाई दर्ज्यानी चिह्न लगाइसकेपछि नयाँ एसएसपी बढुवा सिफारिस हुने तयारी गरिएको छ।
प्रहरी मुख्यालयका स्रोतका अनुसार बढुवा सूचीमा पहिलो नम्बरमा बिमल बस्नेत छन्। उनी २०५३ सालमा राष्ट्रिय अनुसन्धान विभागमा प्रवेश गरी पछि प्रहरी सेवामा स्थानान्तरण भएका हुन्। दोस्रो नम्बरमा रामप्रकाश शाह छन्, जो २०५५ सालमा अनुसन्धान विभाग हुँदै प्रहरीमा आएका हुन्।
त्यसपछि २०७७ माघ २० मा एसपी बनेका भुवनेश्वर तिवारी, ऋषिराम कँडेल, सुरेशप्रसाद काफ्ले, अमरेन्द्रबहादुर सिंह, श्यामसिंह चौधरी, नहकुल पोखरेल, पदमबहादुर विष्ट, सुवासचन्द्र बोहरा, वासुदेव खतिवडा, प्रजित केसी, राजकुमार सिलवाल, योगेन्द्रसिंह थापा, महेन्द्रकुमार श्रेष्ठ, दिलिप घिमिरे र वीरेन्द्रबहादुर शाही प्रतिस्पर्धामा छन्।
तर बढुवामा बरियताभन्दा पनि “संकेत” बढी निर्णायक हुने परम्परा फेरि दोहोरिने डर धेरैमा छ। समितिले निर्णय अघि बढाए पनि अन्तिम सूची ‘उच्च तह’ बाट अनुमोदन हुनुपर्ने प्रचलन यथावत् छ।
नेतृत्वको मौनता र प्रहरीभित्रको असन्तोष
करिब दुई महिनामात्र पदावधि लिएर नेतृत्वमा आएका आईजीपी चन्द्रकुबेर खापुङ बढुवा प्रक्रियामा निरीह देखिएको धेरैको टिप्पणी छ। प्रहरीभित्र अहिले प्रश्न उठिरहेको छ- नेतृत्व किन लाचार बनेको छ? विवादित काम गर्न किन अग्रसर भइरहेका छन्?
अन्तिम निर्णयपछि ६ जना मात्र एसएसपी पदमा पुग्नेछन्, बाँकी प्रतिस्पर्धीहरू यथास्थानमै रहनेछन्। तर प्रहरी संगठनभित्र अहिले पनि एउटै वाक्य गुञ्जिरहेको छ- ‘विश्व अधिकारीको नियति, फेरि दोहोरिन्छ कि?’
बढुवा सिफारिस समितिले प्रारम्भिक सूची तयार गरिसकेको छ र अन्तिम बैठक नजिकिँदैछ। समिति सदस्यहरूबीच छलफल जारी छ, तर बाह्य हस्तक्षेपको आभासले अधिकारीहरू असहज बनेका छन्।
