काठमाडौं । सुनको प्रलोभन प्राणघातक बन्न सक्छ भन्ने डरलाग्दो प्रमाण बनेको छ, झापाको शिवसताक्षी नगरपालिका–१०, माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या प्रकरण। कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका शर्मा मृत फेला परे त्यसमा पनि गाडिएको अवस्थामा।
उनी सस्तो सुनको लोभमा परे र सोही लोभले उनको ज्यान लिएको खुलेको छ। शर्माको शव प्रहरीले हुलाकी राजमार्ग अन्तर्गत बिरिङ खोलाको पुलमुनि प्लास्टिकमा बेरेर गाडिएको अवस्थामा फेला परेको हो। उनको कार भने मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र आगो लगाएर जलाइएको अवस्थामा भेटियो।
शर्मा साँझसम्म आफ्नो बागमती प्रदेश ०१–०३ च ७१९४ नम्बरको कारमा हिँडेका थिए। त्यसपछि उनी सम्पर्कविहीन बने। परिवारले खोजी गर्दै गर्दा कात्तिक १३ गते बिहान चारआली–भद्रपुर सडकखण्डको छेउमा जलेको कार देखेपछि हत्याको एउटा गाँठो खुल्यो।
प्रहरी अनुसन्धानले देखाएको घटनाक्रम भयावह छ। माईधारकै सुनिल साहले ‘सस्तोमा सुन पाइन्छ’ भन्दै शर्मालाई फसाएका रहेछन्। साहका अनुसार उनले करिब एक महिनादेखि नै यो षड्यन्त्रको तयारी गरेका थिए। सुन बेच्ने बहानामा शर्मालाई लुट्ने र आवश्यक परे हत्या गर्ने योजना उनले आफ्ना भान्जा राहुल साह र एक भारतीय सहयोगीसँग मिलेर बनाएका थिए।
कात्तिक ९ गते साँझ, साहले शर्मालाई ‘सुन ल्याएर गाडेको ठाउँ देखाउँछु’ भन्दै अर्जुनधारा नगरपालिका–४ दहीझोडास्थित सामुदायिक वनमा लगे। एकान्त जंगलमा पुगेपछि साह र उनका भान्जाले टाउकोमा हथौडा प्रहार गरी शर्माको हत्या गरे। त्यसपछि उनीहरूले शवलाई प्लास्टिकमा बेरेर विरिङ खोलाको बगरमा लगेर गाडे।
हत्या लुकाउनका लागि प्रमाण मेट्ने प्रयासमा उनीहरूले शर्माकै कारलाई मेचीनगर–१२ निचाझोडास्थित जंगलमा आगो लगाएर जलाए। तर प्रहरीले घटनास्थल नजिकै शर्माको चप्पल फेला पारेपछि शंकाको सबै सुइ त्यतैतिर गयो।
प्रहरीले कात्तिक १४ गते सुनिल साह र उनका भान्जा राहुल साहलाई पक्राउ ग¥यो। अनुसन्धानका क्रममा साहले हत्या र कार जलाउने योजनाको सम्पूर्ण विवरण खोलेका छन्। घटनामा संलग्न एक भारतीय नागरिक भने हाल फरार छन्।
हत्या र आगजनीमा संलग्नहरूविरुद्ध अपहरण र ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा दर्ता गरिएको छ। फरार भारतीय सहयोगीको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। यस घटनाले झापा र आसपासका क्षेत्रमा त्रास र आक्रोश फैलाएको छ। स्थानीयले शनिबार बिहान आक्रोशित हुँदै मुख्य अभियुक्त सुनिल साह र उनका नातेदार बहादुर साहको घरमा तोडफोड गरे।
सस्तो सुनको लोभले सुरु भएको विश्वासघात अन्ततः हत्या, आगजनी र मानवीय क्रूरतामा समाप्त भयो। अब प्रहरी अनुसन्धानले यो लोभ र लुटको नालिबेली सार्वजनिक गर्नेछ।
सरोज शर्माको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।
