टोकियो । नेपाली समुदायबीच धार्मिक, सांस्कृतिक र सामाजिक एकताको सन्देश फैलाउने उद्देश्यले गैराआवसीय नेपाली संघ, एनआरएन जापानको आयोजनामा ‘टोकियो सप्ताह २०२५’ आयोजना हुने भएको छ।
नोभेम्बर ८ (शनिबार) बिहान ११ः०० बजे सुरु हुने उद्घाटन समारोह अन्तर्गत ‘शान्ति कलश यात्रा’ आयोजना गरिने भएको हो।
यस सप्ताह कार्यक्रमको विशेष उद्देश्य जापानमा ‘एकीकृत नेपाली घरः बहुसांस्कृतिक केन्द्र’ निर्माण अभियानका लागि सहयोग संकलन गर्नु रहेको आयोजकले जनाएको छ।
‘घरघरबाट उठौं, नगरनगरबाट जुटौं, यो महाअभियानमा कोही पनि नछुटौं,’ भन्ने नारासहित सुरु हुने अभियानले जापानबासी नेपालीबीच सहकार्य, आस्था र पहिचानको भावना जगाउने विश्वास लिइएको छ।
कार्यक्रममा वाचन प्रविण पण्डित दिनबन्धु पोखरेल र महान बौद्ध गुरु टुल्कु सोनाम गर्वाङ रिम्पोछेको मुखारविन्दुबाट सप्ताहभरि प्रवचन हुने एनआरएन जापानका अध्यक्ष सुभाष लामिछानेले बताए । लामिछानेकाअनुसार नोभेम्बर ८ देखि १५ तारिखसम्म चल्ने सप्ताहमार्फत हिन्दू र बौद्ध दुबै परम्पराका अध्यात्मिक सन्देश प्रवाह गरिनेछ।
उद्घाटन दिवसको कलश यात्रामा १००८ वटा कलशसहित नेपाली परम्परागत भेषभूषा, कला, संस्कृति र झाँकी प्रस्तुत गरिने शान्ति कलश यात्रा समितिकी संयोजक कामना भण्डारीले जानकारी दिइन् ।
‘विश्वशान्तिको सन्देश’सहित हुने उक्त पदयात्रामा जापानभर रहेका नेपाली दाजुभाइ दिदीबहिनी र बालबालिकाको सहभागिता अपेक्षित गरिएको छ।
संयोजक भण्डारीकाअनुसार, जापानको व्यस्त जीवन र तनावबीच मनमा शान्ति, श्रद्धा र सकारात्मक ऊर्जा जगाउने यो धार्मिक अवसरमा सबैलाई सहभागी हुन आग्रह गरिएको छ।
कलशको मूल्य ¥10,000 तोकिएको छ भने सप्ताह सम्पन्न भएपछि कलश सम्बन्धित दातालाई हस्तान्तरण गरिनेछ।
