गत भदौ १८ गते नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा नियुक्त भएका चन्द्रकुवेर खापुङ आउँदो कात्तिक २७ गते सेनानिवृत्त हुँदै छन् । यसपछि सरकारले ३३ औं महानिरीक्षक नियुक्त गर्नुपर्ने हुन्छ ।
३३औँ आईजीपी नियुक्तिको मिति नजिकिँदै गर्दा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दान बहादुर कार्कीविरुद्ध योजनाबद्ध रूपमा ‘छवि कमजोर पार्ने खेल’ सुरु भएको खुलेको छ।
संकटको समयमा नेतृत्व क्षमता देखाउँदै भदौ २४ गते उपत्यका प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले संगठनलाई स्थायित्व दिलाउने निर्णायक भूमिका खेलेका थिए। अन्य एआईजीहरूले सो जिम्मेवारी लिन अस्वीकार गर्दा उनले अघि बढ्दै संकट व्यवस्थापनको नेतृत्व सम्हालेका थिए।
यही कारण उनी संगठनभित्र सशक्त नेतृत्वकर्ता र निर्णयक्षम अधिकारीका रूपमा चिनिएका छन्। तर, यही सफलता अहिले केहीको असहजता बनेको छ। हाल उनी आफ्ना प्रतिस्पर्धी तथा केही बिचौलियाहरूको निशानामा परेका छन्।
स्रोतहरूका अनुसार, आईजी नियुक्तिको मिति नजिकिँदै जाँदा कार्कीको बढ्दो सम्भावना अहिले ‘षड्यन्त्रको कारण’ बनेको देखिन्छ। संगठनभित्रका केही स्वार्थी घेरा र बाह्य प्रभाव समूहले कार्कीको छविलाई कमजोर पार्ने उद्देश्यले नकारात्मक कथा निर्माण गर्दै आएका छन्।
सामाजिक सञ्जाल र अनौपचारिक सञ्जालमार्फत भ्रम फैलाउने, असत्य प्रचार सामग्री तयार गर्ने र ती सामग्रीलाई बुस्ट गराउने कार्य योजनाबद्ध रूपमा भइरहेको छ। कार्कीमाथि लक्षित दुष्प्रचार र भ्रम सिर्जनाका गतिविधि तीव्र हुनुको मूल कारण नेतृत्व क्षमतलाई निष्प्रभावी पार्ने प्रयास हो।
बरियता र कार्यसम्पादन दुवैमा अग्रस्थानमा रहेका कार्की सरकारका दृष्टिमा पनि ३३औँ आईजीपीका लागि बलियो दावेदारका रूपमा हेरिएका छन्। पछिल्ला तीन महानिरीक्षक- ३०औँ, ३१औँ र ३२औँ नियुक्त गर्दा पनि यिनै मापदण्डलाई प्रमुख आधार बनाएको तथ्यले उनको सम्भावनालाई अझ बलियो बनाएको छ।
नेपाल प्रहरीभित्र कार्कीको नाम संगठनात्मक दक्षता, अनुशासन र कार्यसम्पादनका लागि परिचित छ। सोहीकारण संकटका क्षणमा देखाएको निर्णय क्षमताका कारण उनले संस्थागत नेतृत्वका लागि सशक्त विकल्पका रूपमा पहिचान बनाएका छन्।
विश्लेषकहरूको भनाइमा, कार्कीविरुद्ध भइरहेको यो प्रचार अभियान केवल व्यक्तिगत प्रतिष्पर्धा होइन, संस्थागत नेतृत्व छनोट प्रक्रियामाथि दबाब सिर्जना गर्ने रणनीति पनि हो।
अब प्रश्न यही छ- बरियता, कार्यसम्पादन र नेतृत्व क्षमतामा अगाडि कार्कीको नाम टप दाबेदारको रुपमा रहिरहन्छ कि राजनीतिक र संस्थागत दबाबले पुनः निर्णयको दिशा मोडिन्छ? कार्कीविरुद्धको कुप्रचार र भ्रम सिर्जनाको गतिविधिले प्रश्न उठाएको छ के नेपाल प्रहरीभित्र पुनः शक्तिकेन्द्र र व्यक्तिगत स्वार्थको खेल दोहोरिने हो?
यो परिस्थिति केवल कार्कीका लागि मात्र होइन, वर्तमान सरकार प्रमुख सुशीला कार्कीको लागि पनि एउटा अग्निपरीक्षा बनेको विश्लेषण गरिन्छ।
