काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनपछि राजनीतिक दलका नेतृत्वहरुप्रति पार्टीभित्रैबाट प्रश्न उठ्न थालेका छन् । भौतिक आक्रमणबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि पनि नेतृत्व छाड्नु पर्ने दबाब पार्टीभित्रैबाट आइरहेको छ ।
पछिल्लो समय पार्टीको महाधिवेशनको मागसहित सभापति देउवाले नेतृत्व त्याग्नुपर्ने आवाज उठाइरहेका पार्टीका महामन्त्री गगन थापालाई कार्यकर्ताहरुले प्रश्न गर्न थालेका छन् । महाधिवेशनको रटान लगाइरहेका महामन्त्री थापालाई महामन्त्री जस्तो जिम्मेवार पदमा रहँदा नियमित महाधिवेशन किन भएन भनेर आवाज उठेको छ ।
सोहीक्रममा कांग्रेस भातृ संगठन नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशनराज पाण्डेयले महामन्त्री थापालाई विभिन्न प्रश्न सोध्दै पार्टीको महाधिवेशन, पार्टीमा सुधार, कार्यकर्ताहरुको निराशालाई सम्बोधन गर्न, विधानअनुसारका कार्य र कार्यान्वयन पक्षको शुन्यताका साथै पार्टीले जनतासँग पुनः विश्वास ल्याउने आधार मागसहित १० प्रश्न गरेका छन् ।
महामन्त्री थापाले भाषणमा मात्र सीमित भई पार्टीको कार्यान्वयन पक्षमा खासै उपलब्धी देखाउन नसकेको जनाउँदै पार्टी गफले होइन, ठोस कदमले जोगाउनसमेत केन्द्रीय सदस्य पाण्डेयले माग गरेका छन् ।
महामन्त्री थापालाई तरुण दल केन्द्रीय सदस्य पाण्डेयको १० प्रश्नः
प्रश्न १. महामन्त्री ज्यू, तपाईंले बारम्बार भन्नुहुन्छ, “महाधिवेशन त हुन्छ हुन्छ ।” तर तपाईं महामन्त्री भएको बेला नै नियमित महाधिवेशन किन हुन सकेन ? पार्टीलाई विधानअनुसार अघि बढाउन जिम्मेवारी तपाईंको पनि थियो, होइन र ?
प्रश्न २. महामन्त्रीको हैसियतमा तपाईंले पार्टीभित्रको अनुशासन, पारदर्शिता र संगठन विस्तारमा ठोस नतिजा दिनुभयो ? कि भाषण र घोषणामै सीमित रहनुभयो ?
प्रश्न ३. तपाईंले तानाशाही र आत्मकेन्द्रित प्रवृत्तिको विरोध गर्नुभयो । तर जब पार्टीमा त्यही प्रवृत्ति बलियो हुँदै गयो, त्यसबेला किन मौन रहनुभयो ? विरोध किन केवल भाषणमै सीमित रह्यो ?
प्रश्न ४. कांग्रेस सुधार नगरी मत पाउँदैन भन्ने चेतावनी तपाईंले पटक–पटक दिनुभयो। तर सुधारका ठोस कदमहरू, कार्ययोजना वा नीति–परिवर्तन किन देखिएनन् ?
प्रश्न ५. कार्यकर्ताले तपाईंमा ठूलो विश्वास गरेर परिवर्तनको आशा राखेका थिए। अहिले धेरै कार्यकर्ता निराश छन्। तपाईंका अनुसार त्यो निराशाको जिम्मेवारी कसको हो— नेतृत्वको, प्रणालीको कि तपाईंहरूको पनि ?
प्रश्न ६. तपाईंले “पार्टीको विधान, परम्परा र अभ्यास” टेकेर अघि बढ्नुपर्ने बताउनुभयो । तर व्यवहारमा कांग्रेसले बारम्बार त्यही सिद्धान्तको उल्लंघन गरेको देखिन्छ। त्यस रोकथाममा तपाईंको पहल के थियो ?
प्रश्न ७. गुटबन्दी, असन्तुष्टि र निराशा कांग्रेसभित्र पुरानै रोग हुन्। तपाईं महामन्त्री हुँदा ती समस्याहरू किन झन् गहिरिए ?
प्रश्न ८स् सुधारका कुरा तपाईंको भाषणमा प्रशस्त सुन्न पाइन्छ। तर कार्यान्वयनमा शून्यता किन ? के पार्टीभित्र सुधारभन्दा बढी सन्तुलन र पद–राजनीति प्राथमिकता भएको हो ?
प्रश्न ९. आज कार्यकर्ताहरू भन्छन्–“गफले कांग्रेस जोगिँदैन, अब ठोस कदम चाहिन्छ।” तपाईंले अबका दिनमा पार्टी जोगाउन के ठोस कदम चाल्न लाग्नुभएको छ ?
प्रश्न १०. अन्त्यमा — तपाईंको नेतृत्वमा पार्टीले पुनः विश्वास फिर्ता ल्याउने आधार के हो ? कार्यकर्ताले फेरि तपाईंलाई विश्वास गर्नुपर्ने कारण के छ ?
