काठमाडौं । बरियतामा १ नम्बर रहेका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)लाई डिआईजी बढुवामा छुटाएपछि नेपाल प्रहरीको नेतृत्व गरिरहेका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङ चौतर्फी विवादको घेरामा परेका छन् ।
गत आइतबार निस्किएको बढुवा सिफारिसमा सबैभन्दा माथि रहेका एसएसपी विश्व अधिकारीलाई नजरअन्दाज गर्दै, आफ्नो गाउँले नाता पर्ने अविनारायण काफ्लेलाई डिआईजी बनाएपछि खापुङको निर्णय कडा आलोचनामा छ ।
खास कुरा के भने, बढुवा सिफारिस सार्वजनिक हुनु अघि अघिल्लो दिन राति नै आईजीपी खापुङ, काफ्ले र अर्का एक एसएसपीबीच करिब चार घण्टा गोप्य छलफल भएको खुलेको छ । त्यही बैठकमा बढुवाको ‘डिजाइन’ बनेको प्रहरीभित्र चर्चा छ । क्षमता र पेशागत मर्यादाको पहिल्यै प्रश्न उठाएका खापुङ दरबारमार्गमा डिएसपी हुँदा कल डिटेल्स विवादमा तानिएका अधिकृत हुन् ।
खापुङलाई नजिकबाट चिनेका प्रहरी अधिकृतहरू भन्छन्, ‘२ महिना ७ दिन संगठन चलाउने मौका पाएका खापुङले पुलिसिङ खाली छोडेर सरुवा–बढुवामा भने हदैसम्मको काम गरिदिए ।’ उनीहरूको भनाइमा खापुङको सक्रियतामा भन्दा बढी सक्रियता पछिल्लो समय उनकी श्रीमती भावना खापुङ (पूर्वडीएसपी) को देखिन्छ । संगठनभित्र ‘दुईजना’को बिगबिगी बढेको गुनासो छ ।
छोटो कार्यकालमा नै खापुङले प्रहरी संगठन थिलथिलो बनाएको आरोप छ । खासगरी सरुवा बढुवामा श्रीमतीकै सिफारिस र दबाब रहँदै आएको दाबी स्रोतहरूको छ । केही दिनअघि मात्रै भएको इन्स्पेक्टर सरुवामा राम्रै आर्थिक लेनदेन भए भन्ने कुरा पनि प्रहरीभित्र खुलेआम सुनिन थालिएको छ ।
यत्तिमात्र होइन, खापुङले जात-पहिचानलाई आधार बनाएर ‘आफन्त’ र ‘नातेदार’हरूलाई प्राथमिकता दिएको भन्दै टिका-टिप्पणी चर्किएको छ । उदाहरणका लागि, भतिजा कैलाश लिम्बुलाई मोरङको सिजुवा पठाए । त्यो पनि नियमित सरुवामा नभएर काजमा । पछि दरबन्दी त्यहिँ मिलान गराए ।
तर उनीसँगै आईपीएस तालिम गरेका ब्याचमेट आशिष पोखरेललाई भने आईजीपीको फोटोमा फेसबुक कमेन्ट गरेको निहुँमा इन्चार्ज नपठाइएको चर्चा छ । व्यक्तिगत रिसिइबीले संगठन चलाउन मिल्छ ? प्रहरीभित्र यही प्रश्न धेरैजसोको जिब्रोमा छ ।
खापुङ कप्र शाखामा एसपी हुँदा उनीसँगै बसेका धन रावल अहिले इप्रका मर्चवार (रुपन्देही) पुगेका छन् । त्यस्तै, त्यही समय सईमा काम गरेका तपेन्द्र बिष्टलाई इप्रका मझगाउँ जस्तो आकर्षक स्थान । नातामा ज्वाइँ पर्नेलाई समेत इन्चार्ज बनाएर पठाएको चर्चा छ ।
घरपायक पाँचथरको रबिवजार पुगेकी दुर्गा राईलाई ‘नातावाद’का कारण प्रहरी दिवसको मौकामा ५० हजार रुपैयाँ राशीको योगेन्द्र स्मृति साहसी पुरस्कार दिलाए । जबकी उनी डिल्लीबजार कारागारमा हुँदा जेएनजी आन्दोलनका करिब २० जना थुनुवा भागेका थिए- त्यो पनि चर्चाकै विषय बनेको थियो ।
यसैगरी इन्स्पेक्टरहरु परशुराम राई, पूर्णकुमार राई, मोतिलाल योन्जन तामाङ, भिमराज राई, भूपाल राई, राकेश राई, रुपेश तामाङ, विशाल लिम्बु, सन्तोष राई, सुजन लामा, सोम घर्तीमगर, हिमाल शमशेर राई, हेमन्त राई, मिलन थापा, मनिष थापा, भुपेन्द्र थापा सबैलाई कमाउने स्थानमा पठाइएको सूची प्रहरीभित्र भाइरल भएको छ ।
त्यतिमात्रै होइन, उपत्यका प्रहरी कार्यालय रानीपोखरी दरबन्दी छाडेर लामो समयदेखि काठमाडौं परिसरमै बसेका इन्स्पेक्टर वागंदेन लामालाई खापुङले संरक्षण गरिरहेको दाबी छ । खरानी ग्रुपसँग मिलेर राजधानीमा जुवा चलाउने नेटवर्कमा उनको संलग्नता चर्चा छ । यता उर्जामन्त्री कुलमान घिसिङसँग पनि उनले सुमधुर सम्बन्ध राखेको भनेर प्रहरी मुख्यालयमै कुरा चल्छ ।
यसरी जात-नाता-हुनेखाने-रनरपास आधारमा सरुवा–बढुवाको मानकमै धावा बोलेपछि प्रहरी संगठनभित्र खापुङलाई ‘काका आईजीपी’ भनेर व्यंग्य गर्न थालिएको छ । संगठनभित्रै क्षमतावान अधिकृतहरूको मनोबल खस्किएको बताइन्छ ।
‘खापुङ संगठन चलाउन होइन, सरुवा–बढुवामा इतिहास बनाउन आएका रहेछन्’, एक जुनियर प्रहरी अधिकृत भन्छन्, ‘जब नेतृत्व नै नातावाद र व्यक्तिगत रिसिइबीमा रमाउँछ, त्यस्तो संगठन कसरी बलियो हुन्छ ?’ यो प्रश्न अहिले प्रहरीभित्रै प्रत्यक्ष सुनिन थालिएको छ ।
त्यतिमात्र नभएर डिएसपी र एसपी सरुवामा समेत ठूलै चलखेल भएको बताइन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईनिकटका आईजीपी खापुङले आकर्षक जिल्लाहरुमा राईकै सिफारिसमा एसपीको सरुवा गरेको चर्चासमेत प्रहरी मुख्यालयभित्र छ ।
