काठमाडौं। नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङ यही कात्तिक २६ गते अनिवार्य अवकाशमा जाँदैछन्।
प्रहरी नियमावलीअनुसार ३० वर्षे सेवा अवधि पूरा गरेपछि उनी सो दिनको मध्यरातदेखि अवकाश हुने भएका हुन्।
खापुङले १९ भदौमा आईजीपी पदभार ग्रहण गरेका थिए।
उनको अवकाश नजिकिएसँगै अब नेपाल प्रहरीको ३३औँ आईजीपी को बन्ला ? भन्ने विषयमा प्रहरी संगठनभित्रै मात्र होइन, राजनीतिक वृत्तमा पनि चासो बढेको छ।
मुख्य प्रतिस्पर्धीहरु
यसपटक आईजीपी बन्नका लागि ४ जना एआईजीपी मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन्।
जसमध्ये काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एआईजीपी दानबहादुर कार्की, मानव स्रोत साधन विभागमा कार्यरत एआईजी राजन अधिकारी, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत डा. मनोज केसी र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (प्रहरी एकेडेमी) महाराजगञ्जमा कार्यरत सिद्धिविक्रम शाह ।
यी चारमध्ये एकजनाले नेपाल प्रहरीको नयाँ प्रमुखको रूपमा ३३औँ आईजीपी पद सम्हाल्ने निश्चित छ।
अन्य पनि योग्य तर सम्भावना न्यून
प्रहरी नियमावलीअनुसार हालै २३ असोजमा एआईजीपीमा बढुवा भएका सुशीलसिंह राठौर, उमा चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक पनि आईजीपीका लागि योग्य छन्।
तर, उनीहरू हालसालै बढुवा भएकाले सीनियरिटी र अनुभवको आधारमा आईजीपी बन्ने सम्भावना न्यून रहेको स्रोतले जनाएको छ।
