काठमाडौं । प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा सिफारिसमा छुटाइएपछि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी राजीनामा दिने तयारीमा रहेको स्रोतले बताएको छ। बढुवा सिफारिसको वरीयतामा पहिलो नम्बरमा रहेका अधिकारीलाई बढुवाबाट वञ्चित गरिएकाले उनी मर्माहत बनेका छन्।
अधिकारी प्रहरी संगठनभित्र अब्बल, कार्यकुशल र निडर अधिकृतको रूपमा चिनिन्छ। विशेषगरी जेनजी आन्दोलनका क्रममा काठमाडौं प्रहरी प्रमुख रहेर कानून कार्यान्वयन गर्दा अधिकारीलाई विवादमा तानिएको थियो। सोही कारणलाई लिएर बढुवा रोकेको चर्चा प्रहरी मुख्यालयमा चलिरहेको छ।
यसैबीच, प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङको ‘सेटिङ’ ले एसएसपी अधिकारी बढुवाबाट छुटेको आरोप समेत उब्जिएको छ। खापुङकै गाउँबाटका अर्का एसएसपीलाई डिआईजी बनाउन अधिकारीलाई रोकिएको दाबी स्रोतको छ।
गृह मन्त्रालयका सचिव रामेश्वर दंगाल नेतृत्वको बढुवा समितिले आइतबार साँझ भूपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेलाई डिआईजी बढुवा सिफारिस गरेको थियो।
तर, २०८० वैशाख २४ को बढुवामा वरीयताक्रममा पहिलो नम्बरमा रहेका एसएसपी विश्व अधिकारी भने सिफारिस सूचीबाट पर राखिएका छन्। अधिकारीले आफ्नो पेशागत मर्यादा र योगदानलाई अपमान गरेको भन्दै राजीनामा पत्र लेख्ने तयारी गरेको बताइएको छ।
परिस्थितिको मूल्यांकनपछि नै अन्तिम निर्णय लिइने स्रोतको भनाइ छ।
