काठमाडौं । अधिवक्ता युवराज सफलले प्रहरी बढुवामा करोडौंको चलखेल भएको आरोप लगाएका छन्। उनले डिआइजी बढुवामा पहिलो नम्बरको वरियतामा रहेका एसएसपी विश्व अधिकारीलाई किन छुटाइएको हो भन्ने प्रश्न उठाउँदै सरकार, गृहमन्त्री र प्रशासनमाथि तीव्र प्रहार गरेका हुन्।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भनेका छन्, ‘जेन्जी आन्दोलन प्रकरणमा केपी ओली, रमेश लेखक, बालेन, सुदन र विश्व अधिकारीसहित १३ जनाविरुद्ध ज्यानसम्बन्धी जाहेरी मैले दर्ता गराएको हुँ। तर बढुवामा पहिलो नम्बरको अधिकारी किन छुटे ? कि लुसिफरको हलि, केपी ओलीका कार्यकर्ता ओमप्रकाश अर्यालले जुनियरबाट करोडौं हात पारे ?’
उनले प्रहरी बढुवामा फेरि ‘दलाली र लेनदेनको संस्कृति’ दोहोरिएको आरोप लगाउँदै भनेका छन्- ‘हिजो दलालहरुको सरकार हुँदा जस्तै वरियता मिचेर बढुवा भयो भने यो नागरिक सरकार होइन, तेरिमा चोर सरकार हो।’
अधिवक्ता सफलका अनुसार एसएसपी विश्व अधिकारी प्रहरी संगठनभित्र अब्बल, निडर र इमानदार अधिकृत हुन्, जसले आफ्नो पेशागत निष्ठाका कारण राजनीतिक खेलमा परेर बढुवा गुमाएका हुन्।
उनले चेतावनी दिंदै भने, ‘यदि जेन्जी आन्दोलनका क्रममा जिल्ला प्रहरी प्रमुख भएकै कारण उनको बढुवा रोकिएको हो भने, त्यसबेलाका प्रधानमन्त्री, गृहमन्त्री, आइजिपी र सिडिओ सबैलाई कारबाही गर्नुपर्छ।’
सफलको यो स्ट्याटस सामाजिक सञ्जालमा भाइरल बन्दै गएको छ, जसमा धेरैले प्रहरी बढुवामा पारदर्शिता, राजनीतिक हस्तक्षेप र आर्थिक प्रभावबारे प्रश्न उठाएका छन्।
