काठमाडौँ । अभियानकर्मीका रुपमा चिनिएका अमन प्रताप अधिकारीले ‘जेनजी’ आन्दोलनका क्रममा संसद् भवनभित्र पसेर अपशब्द बोलेको स्वीकार गरेका छन् ।
उनले आफू भदौ २३ गते भ्रष्टाचार विरोधी ‘जेनजी’ आन्दोलनलाई समर्थन गर्न संसद् भवन अगाडि पुगेको स्मरण गरेका छन् । सो दिन संसद् भवन अगाडि गोली चल्दा स्कुलको पोसाक लगाएका चार विद्यार्थी ढलेको र उनीहरूलाई गोली लागी सहिद भएको कुराले आफू आक्रोशित भएको उनले बताएका छन् ।
भदौ २४ गते ती विद्यार्थीहरूको झल्को मुटुमा बोकेर र आक्रोश लिएर फेरि संसद् भवन पुगेको अधिकारीको भनाइ छ । उनले आक्रोशको कारणबारे स्पष्ट पार्दै भनेका छन्, ‘त्यो आक्रोश किन थियो त ? जो सरकार थियो नि, त्यो सरकारले संसद् भवन भित्रबाट गोली प्रहार गरेको थियो । र तपाईँ, मेरा छोराछोरी त्यहीँ ढलेर त्यहीँ सहिद भएका थिए ।’
संसद् भवनभित्र प्रवेश गर्दा आफूमा पनि आक्रोश देखिएको र भित्र गएपछि मोबाइल निकालेर गोली प्रहारको आदेश दिने सरकार चलाइरहेका नेताहरूलाई ‘तेरो देश सकियो’ भनेर अपशब्द बोलेको उनले स्वीकार गरेका छन् ।
उनले सो अपशब्द केपी ओली नेतृत्वको सरकार, संसद् तथा देउवाजी, प्रचण्डजी लगायत सम्पूर्ण संसद् विरुद्धको आक्रोश रहेको स्पष्ट पारेका छन् । उनले ती छोराछोरी आफ्ना आँखा अगाडि मरेको रिसरागको आक्रोश रहेको भन्दै सर्वसाधारणप्रति इङ्गित नभएको बताएका छन् ।
आफ्नो भिडियोमा अपशब्द सुनेर असहज लागेकोमा उनले धेरै-धेरै माफी मागेका छन् । तर, उनले जो विरुद्ध अपशब्द बोलेका हुन्, त्यसमा आफूलाई पछुतो नभएको बताएका छन् । ‘किनभने उहाँहरूकै आदेशमा तपाईँ हाम्रो छोराछोरी मारिएको हो । त्यो हत्याराविरुद्ध चाहिँ मैले त्यो अपशब्द बोलेको हो,’ उनले भनेका छन् ।
संसद् भवन, सिंहदरबार वा न्यायालय जलाएको भन्ने भ्रम रहेको भए एउटा प्रमाण निकाल्न उनले चुनौती दिएका छन् । उनले कसैको व्यक्तिगत घर या कोही कसैप्रति हातपात गरेको भए एउटा सानो सबुत भए पनि ल्याए आफू जेल जान तयार रहेको बताएका छन् ।
