काठमाडौंं । प्रहरी वृत्त महाराजगन्जमा कार्यरत २ जना प्रहरीको हत्यामा संलग्न आरोपमा थप ५ जना पक्राउ परेका छन् ।
जेनजी आन्दोलनमा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत असई मिलन राय र जवान उत्तम थापाको प्रदर्शनकारी बनेर पुगेका केही व्यक्तिको कुटपिटबाट मृत्यु भएको थियो ।
उनीहरुले कार्यालयबाट तानेर नजिकै रहेको भाटभटेनी सुपरस्टोरको पर्खालमा लगेर प्रहरीलाई कुटपिट गरेका थिए ।
त्यहाँबाट पनि घिसारेर मुख्य सडकको बीचमा पुर्याएर कुटपिट गर्दा उनीहरुको ज्यान गएको थियो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार प्रहरी हत्याका क्रममा विभिन्न भूमिका खेल्ने व्यक्तिलाई खोजतलासका क्रममा फेला पारिएको हो ।
पक्राउ पर्नेमा गोरखाका २१ वर्षीय सोमबहादुर गुरुङ, तनहुँका २१ वर्षीय राजीव गुरुङ र युनिक श्रेष्ठ, सर्लाहीका १७ वर्षीय सुमित तितुङ र रामेछापका १६ वर्षीय दीपक मगर रहेका छन् ।
यसअघि सोही घटनाका आरोपि युवराज क्याप्छाकी, सोनाम तामाङ भन्ने बुद्धिलाल थिङ, होमप्रसाद पौडेल र टिकाराम विक पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
महाराजगन्जमा प्रहरीको हत्यामा संलग्न रहेर पछि पक्राउ परेकाहरू विरुद्ध अनुसन्धान सकेर पूरक अनुसन्धान प्रतिवेदन पेस गरिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
