घोराही । दाङ प्रहरीले तिहार मनाउनका लागि वडा अध्यक्षसहित पक्राउ परेका १३ जना जुवाडेलाई छाडेको छ। जिल्ला प्रहरी प्रमुख एसपी दीपक श्रेष्ठको निर्देशनमा पक्राउ परेका ती व्यक्तिहरूलाई जिम्मा–जमानतमा रिहा गरिएको हो।
यस्तै भालुबाङबाट पक्राउ परेका १४ जना जुवाडेलाई पनि प्रहरीले तिहार मनाउनका लागि छाडेको छ। दाङमा बढ्दो जुवा प्रकरणमा प्रहरीको मिलेमतो रहेको र प्रहरी स्वयं ‘मूकदर्शक’ बनेको आरोप भइरहेका बेला वडा अध्यक्ष अर्यालसहितका भिआइपी जुवाडेलाई प्रहरीले सजिलै छाडेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डीएसपी चक्र शाहीले पक्राउ परेकालाई तिहारपछि उपस्थित हुने सर्तमा मङ्गलबार जिम्मा–जमानतमा छाडिएको जानकारी दिए। पक्राउ परेकाबाट नगद ४ लाख रुपैयाँ बरामद गरिएको थियो।
आईतवार राति घोराही उपमहानगरपालिका–१५, काठेकोहलस्थित होटल टी थ्री मा जुवा खेलिरहेको सूचनाको आधारमा पुगेको प्रहरी टोलीले ९ जनालाई पक्राउ गरेको थियो।
होटलको कोठा नं. १०८ मा जुवा खेलिरहेका घोराही–१८ का वडा अध्यक्ष अर्यालसहित ९ जनालाई नगद ३ लाख ४५ हजार ९१५ रुपैयाँसहित पक्राउ गरिएको हो। अर्याल नेकपा (एमाले)बाट निर्वाचित वडा अध्यक्ष हुन्।
पक्राउ पर्ने अन्य व्यक्तिहरूमा घोराहीमै कार्यरत इन्जिनियर तुलसीपुर–१२ का ३२ वर्षीय प्रवीण रावत, घोराही–१८ का कृष्णबहादुर घर्ती, पूर्व इन्स्पेक्टर नारायण प्रसाद अधिकारी, मितेरी अस्पतालका सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम केसी, लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका–२ का तेजप्रसाद आचार्य रहेका छन्।
त्यस्तै, घोराही–१५ काठेकोहलस्थित मिराज श्रेष्ठको घरमा जुवा खेलिरहेका ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको थियो। उनीहरूसँग ६० हजार ६४० रुपैयाँ नगद बरामद गरिएको थियो।
पक्राउ पर्नेमा घोराही–१८ रझेना निवासी ३० वर्षीय अनुप कशौधन, घोराही–१५ काठेकोहलका ४१ वर्षीय ज्ञानेन्द्र रिजाल, ३४ वर्षीय एकराज खत्री र घोराही–१४ का ३२ वर्षीय सोहेलमान मनसुरी रहेका छन्।
यसअघि पनि घोराहीको राप्ती सुपर लज मा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका १२ जना जुवाडेलाई ७ दिनपछि राजनीतिक दबाबमा प्रहरीले छाडेको थियो।
मध्यरातमा छापा हानी पक्राउ परेका ती जुवाडेहरूसँग १ लाख ८८ हजार रुपैयाँभन्दा बढी नगद बरामद गरिएको थियो।
दाङका प्रमुख जिल्ला अधिकारी विश्वमणि अर्यालका अनुसार, उनीहरूलाई १० देखि ४० हजार रुपैयाँ धरौटीमा रिहा गरिएको हो। जुवाडेहरूलाई छाडाउनका लागि स्थानीय तथा केन्द्रीय कांग्रेस नेताहरूले सिडिओ र एसपीमाथि चरम दबाब दिएको बताइन्छ।
राप्ती सुपर लजमा पक्राउ परेकामध्ये घोराही–१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी, रजनिस चौधरी, घोराही–१४ का विष्णु गुप्ता, होटलका म्यानेजर सुरज पुन, तुलसीपुर–९ का गमबहादुर चलाउने, वीरबहादुर बस्याल, तुलसीपुर–६ का सुरेन्द्र हमाल लगायतका व्यक्ति थिए।
सामान्य नागरिकलाई साना मुद्दामा २५ दिनसम्म हिरासतमा राख्ने प्रहरी प्रशासनले राजनीतिक दबाबका कारण दुई दिनमै जुवाडेलाई छाड्दा जनस्तरमा प्रश्न उठेको छ।
