दाङ । दाङ प्रहरीले घोराहीबाट पक्राउ गरेका १२ जना जुवाडेहरू ७ दिनको हिरासतपछि धरौटीमा रिहा भएका छन्। प्रहरीले बुधबार मध्यराति घोराही–१५ सहिद गेट नजिक रहेको राप्ती सुपर लजमा छापा हानी नगद एक लाख ८८ हजार रुपैयाँसहित पक्राउ गरेका थिए।
दाङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) विश्वमणि अर्यालका अनुसार जुवाडेहरूलाई १० हजारदेखि ४० हजार रुपैयाँसम्म धरौटीमा रिहा गरिएको हो।
प्रहरी तथा प्रशासनिक स्रोतका अनुसार, कांग्रेसका स्थानीय र केन्द्रीय नेताहरूले जुवाडेहरूलाई छुटाउनका लागि सीडिओ र प्रहरी प्रमुख एसपमाथि तीव्र दबाब दिएका थिए।
पक्राउ पर्नेहरुमा घोराही–१५ का खिमबहादुर डाँगी, पंकज न्यौपाने, सूर्य बोहरा, आकाश लम्साल, गोविन्द डाँगी र रजनिस चौधरी, घोराही–१४ का विष्णु गुप्ता, राप्ती सुपर लजका म्यानेजर सुरज पुन, तुलसीपुर–९ का गमबहादुर चलाउने र वीरबहादुर बस्याल तथा तुलसीपुर–६ का सुरेन्द्र हमाल रहेका छन्।
पक्राउ परेकामध्ये हमाल र गुप्ता पटके (स्थायी जुवाडे) रहेको प्रहरीको भनाइ छ।
तर सुरेन्द्र हमाल भने नेपाली कांग्रेस तुलसीपुर नगर सभापति सुरेश हमालका दाजु हुन्।
गोप्य सूचनाको आधारमा छापा
घोराहीस्थित राप्ती सुपर लजमा जुवा भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी निरीक्षकको टोलीले मध्यरातमा छापा हानेर १२ जनालाई पक्राउ गरेको थियो।
घटनाको अनुसन्धानका क्रममा उच्चस्तरीय राजनीतिक दबाबका कारण उनीहरूलाई छोटो अवधिमै धरौटीमा रिहा गरिएको जनाइएको छ।