काठमाडौं । देशका विभिन्न स्थानमा प्रहरीले जुवातास (ग्याम्बलिङ) खेलेको आरोपमा एकैदिनमा ४० जनालाई पक्राउ गरेको छ।
लमजुङ, सुन्दरबजार नगरपालिका-६ मिलनचोक बस्ने ५३ वर्षीय रूक बहादुर गुरूङको घरमा जुवातास खेलिरहेको अवस्थामा रूक बहादुर समेत ९ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३२ हजार २ सय ५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।
कैलाली, लम्कीचुहा नगरपालिका-५ चौरीस्थित गोठमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३२ वर्षीय लक्ष्मण गिरी समेत १७ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी उनीहरूलाई नगद २ लाख ५४ हजार २ सय रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
दाङ, तुलसीपुर उपमहानगरपालिका-३ दमारगाउँ बस्ने ५८ वर्षीय कुबेर रेउलेको घरमा जुवातास खेलिरहेको अवस्थामा कुबेर समेत ७ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ५ सय ६० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-८ खजुरा बस्ने ५१ वर्षीय रूद्र प्रसाद खनालको घरमा जुवातास खेलिरहेको अवस्थामा रूद्र प्रसाद समेत ७ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई नगद ५८ हजार ९ सय ४० रूपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।