चितवन । प्रहरी दिवसको ७० औं अवसरमा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द पुरीलाई ‘उत्कृष्ट प्रहरी कार्य पुरस्कार’ प्रदान गरिएको छ।
नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसात गर्दै शान्ति–सुरक्षा, अपराध अनुसन्धान, विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनमा उल्लेखनीय योगदान दिएको कदरस्वरूप बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआईजी अरुण पौडेलले एसपी पुरीलाई प्रशंसापत्रसहित सम्मान गरे।
सम्मानपत्रमा लेखिएअनुसार, एसपी पुरीले सुरक्षित समाज निर्माणको पवित्र लक्ष्यप्रति समर्पित भई कुशल व्यवस्थापन र प्रभावकारी प्रहरी परिचालनमार्फत जिल्लाको समग्र शान्ति, सुरक्षा र अपराध नियन्त्रणमा उत्कृष्ट कार्य प्रदर्शन गरेका छन्।
यस वर्षको बाढीपहिरो व्यवस्थापनमा एसपी पुरी दिनरात नभनी राहत, उद्धार र जोखिम न्यूनीकरणमा खटिएका थिए। स्थानीय निकाय, सेना, सशस्त्र प्रहरी र सरोकारवालासँगको उनको समन्वयले सयौँ मानिसको उद्धार र क्षति न्यून गर्न महत्वपूर्ण भूमिका खेलेको बताइन्छ।
त्यस्तै, डिआईजी पौडेलले इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रतिक सिंहलाई पनि उत्कृष्ट कार्य प्रदर्शन गरेको भन्दै पुरस्कृत गरेका थिए।
कार्यक्रममा बागमती प्रदेशका वरिष्ठ प्रहरी अधिकारी, स्थानीय जनप्रतिनिधि र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो।
