रौतहट । पूर्व–पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रनिगाहपुरस्थित चन्द्रपुर अस्पताल प्रालिले ‘रक्तदान जीवनदान’ भन्ने मूलमन्त्रसहित विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा ४० देखि ६१ पटकसम्म रक्तदान गरेका दाताहरूलाई सम्मान गरिएको हो।
अस्पतालका प्रमुख तथा संचालक डा. सुभाष चौधरीले ६० पटक रक्तदान गरेका बालकृष्ण श्रेष्ठ, ४१ पटक गरेका सुबोध कोइराला, ४० पटक गरेका दिवाकर सापकोटा र रक्तदान अभियानका सक्रिय सहयोगी चन्द्रोदय साकोस र अध्यक्ष बसन्त आचार्यलाई टिका, माला र कदरपत्र प्रदान गरी सम्मान गरे।
त्यस्तै जिल्ला ट्राफिक कार्यालय रौतहटका ४ प्रहरी अधिकृत, सुबोध कोइराला र बिन्दा साहलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा उपस्थित वक्ताहरूले चन्द्रपुर अस्पताललाई मानवीय सेवामा अग्रसर संस्था भन्दै धन्यवाद ज्ञापन गरे र रक्तदान अभियानलाई अझ सशक्त बनाउन आह्वान गरे।
अस्पताल प्राङ्गणमा आयोजित कार्यक्रममा डा चौधरीको अध्यक्षता, ट्राफिक प्रमुख इन्स्पेक्टर लोकेन्द्र अधिकारीको विशिष्ट आतिथ्य, साथै रामशरण गौतम, भिमबहादुर विकलगायत अतिथिहरूको उपस्थिति रहेको थियो।
विश्व मुटु दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा दर्जनौँले रक्तदान गरेका थिए। चन्द्रपुर अस्पताल र चन्द्रोदय साकोसले दीर्घकालीन रक्तदानकर्ताको सम्मान र अभियानको निरन्तरता प्रदान गर्दै आएका छन्।
